Thursday, April 16News That Matters

दिक्तेलको मेयरमा कांग्रेसबाट तीर्थराज भट्टराई उम्मेद्वार

खोटाङ, वैशाख १२ । खोटाङको जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाको मेयरमा अन्ततः नेपाली कांग्रेसले तीर्थराज भट्टराईलाई उम्मेद्वार बनाएको छ ।

जिल्ला समितिबाट आकांक्षी १६ जनाको नाम प्रदेश समितिमा सिफारिस गरिएकोमा प्रदेश समितिले महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई मेयरको टिकट दिएको थियो । जिल्ला कार्यसमिति उपसभापतिसमेत रहनुभएका भट्टराईले मेयरको टिकट पाउने विश्वास जिल्लाका आम कांग्रेस नेता कार्यकर्ताले राखेकोमा प्रदेश समितिले पोखरेललाई टिकट दिएपछि रुष्ट बनेका कार्यकर्ताले आज बिहानै दिक्तेलस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । दिउँसो टिकट लिएर मनोनयन दर्ताका लागि आउनुभएका पोखरेलमाथि कांग्रेसकै असन्तुष्ट कार्यकर्ताले हातपातसमेत गरेका थिए । विवाद चर्किँदै गएपछि उम्मेद्वार छनोटका लागि आकांक्षीहरूको नाम केन्द्रीय समितिमा पुगेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टराईलाई मेयरको आधिकारिक उम्मेद्वार घोषणा गर्दै मुख्य निर्वाचनको अधिकृतको कार्यलयलाई मनोनयन दर्ताका लागि सिफारिस गर्नुभएको छ ।

यस नगरपालिकामा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ । नगरपालिकाको उपमेयर माओवादीले पाएको छ ।