
खोटाङ, वैशाख १२ । हलेसी तुवाचुङ नगरपालिका– ५ दुर्छिममा जनता समाजवादी पार्टी (जसपा) ले छुट्टै उम्मेद्वारी दर्ता गरेको छ । यस नगरपालिकामा कांग्रेस बाहेक नेकपा माओवादी, जसपा र एकीकृत समाजवादी (एस)ले गठबन्धन गर्ने जिल्लामा निर्णय भएपनि सहमती नभएपछि जसपाले छुट्टै उम्मेद्वारी दर्ता गराएको पार्टीले जनाएको छ ।
आफ्नो पकेट क्षेत्र रहेको दुर्छिम वडामा वडाध्यक्ष जसपालाई दिन अन्य पार्टी नमानेपछि जसपा एक्ले चुनावी मैदानमा उत्रिने निर्णय गरेको जसपा हलेसी तुवाचुङ नगर समिति अध्यक्ष मबिन्द्र चाम्लिङले बताउनुभयो । राईको भनाइ अनुसार दयाराम राईको नेतृत्वमा आज मनोनय दर्ता गरिएको छ । जसमा खुल्ला सदस्यामा युकराज राई र जितेन्द्र राई, महिला सदस्यमा कोपिला राई र दलित सदस्यमा दिलकुमारी दमाइको उम्मेद्वारी दर्ता भएको छ ।
जसपाले जिते के हुन्छ ?
नागगरिले विश्वास गर्दै जसपाका उम्मेद्वारलाई मत दिएर जिताए पहिलो प्रथामिकतामा शिक्षा क्षेत्रमा काम गर्ने वडाध्यक्षका उम्मेद्वार दयाराम राईले बताउनुभयो । शिक्षा नै विकास र समृद्धिको पहिलो आधार भएको कारण शैक्षिक सुधार गरेर दुर्छिमका नागरिकलाई शिक्षित र सक्षम बनाउने उहाँको भनाई छ । यस्तै भौतिक निर्माणमा लगानि गरेर सोही कामबाट रोजगारीको सृजना गर्ने, हरेक क्षेत्रमा कृषी पकेट क्षेत्र निर्माण गरेर कृषकलाई कृषी पेशाबाटै आत्मनिर्भर बनाउने राइैले बताउनुभयो । राईले भन्नुभयो “ हामी ठुला सपना देखाएर नागरिकलाई भ्रम छर्दैनौँ नागरिकको जे आवश्यकता छ त्यसैलाई मध्यनजर गरेर काम गर्छौँ” । दुर्छिममा आम नागरिकको समस्या खानेपानीको छ, त्यस्तो समस्याको अन्त्य गर्ने आफ्नो पहिलो प्रथामिकता रहेको राईले सुनाउनुभयो । यस्तै पर्यटन क्षेत्रमा पनि दुर्छिम प्रबल सम्भावना बोकेको वडा भएको कारण होम स्टे सञ्चालन लगायतका कार्यबाट प्रर्यटन प्रबद्र्धन गर्ने उहाँको भनाइ छ । यस्तै जथाभावी डोजर चलाएर खेतीयोग्य जमिन भत्काउनु भन्दापनि आवश्यक सडकलाई सधै चल्ने गरी स्तरउन्नती गर्ने राईको भनाइ छ ।
जसपाको जित्ने आधार के हो ?
हिजोका दिनमा शिक्षा क्षेत्रमा जसपाका ब्यक्तिले नेतृत्व गरेको ठाउँमा शैक्षिक सुधार भएको अनुभुति नागरिकले गरेको कारण आफुहरुलाई वडाको नेतृत्व नागरिकले सुम्पिने जसपाका नगर अध्यक्ष चाम्लिङले बताउनुभयो । पहिरो बाढी, अग्नी पीडितहरुलाई जसपाले गरेको सहयोग र बिभिन्न सामाजिक कार्यमा जसपाले गरेको कामलाई हेरेर नागरिकको भोट आफ्नो पार्टीलाई आउने उहाँको भनाइ छ । यस्तै नागरिकले बैकल्किप राजनीतिक धार पनि खोजिरहेको कारण जसपाको जीत दुर्छिममा सुनिश्चित भएको चाम्लिङले सुनाउनुभयो ।
