Thursday, April 16News That Matters

खोटाङ : स्थानीय निर्वाचनका लागि १३ सय २८ जनाको उम्मेदवारी, कुन पालिकामा कति ?

पवन खड्का
खोटाङ, वैशाख १३ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ सय बढीको उम्मेदवारी परेको छ । आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिइएको थियो ।  दशवटै पालिकामा रहेका निर्वाचन कार्यालयमा गरी दुई दिनमा दलगत र स्वतन्त्रसहित १३ सय २८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये दुुई नगरपालिकाको नगरप्रमुखमा १३, उपप्रमुखमा ९, आठ गाउँपालिकाको अध्यक्षमा ३२, उपाध्यक्षमा २७, ७९ वडाको वडाध्यक्षमा २ सय ९५ र वडा सदस्यमा ९ सय ५२ जनाले मनोनयन दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
जिल्ला निर्वाचन अधिकारी राजेश गौतमका अनुसार जिल्लाका दुई नगरपालिकामध्ये जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा प्रमुुखका लागि ६ जना र उपप्रमुखका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेससहित चार दलले गठबन्धन गर्ने सहमति भएको यस नगरपालिकामा माओवादीले नगरप्रमुखमा छुट्टै उम्मेदवार उठाएको छ । कांग्रेसको मेयरको टिकट वितरणमा निम्तिएको विवादपछि माओवादीले कांग्रेसबाहेकका अरू दलसँग तालमेल गरेर जाने गरी मेयरमा पनि उम्मेदवार उठाएको हो । यस नगरपालिकाको मेयरमा कांग्रेसको प्रदेश कार्यसमितिले धर्मराज पोखरेललाई र केन्द्रीय कार्यसमितिले तीर्थराज भट्टराईलाई टिकट दिएको थियो । केन्द्रबाट सभापति शेरबहादुर देउवाले भट्टराई मेयरको आधिकारिक उम्मेदवार रहेकाले पोखरेललाई हटाएर भट्टराईलाई उम्मेदवार कायम गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सोमबार र मंगलबार गरी दुईपटक पत्र पठाइसक्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयको मनोनयन दर्ता भएका उम्मेदवारको सूचीमा भट्टराईको नाम हुनु तर पोखरेलको नहुनुले पोखरेललाई हटाएर भट्टराईलाई आधिकारिक उम्मेदवार कायम गरिसकिएको बुझ्न सकिन्छ । भागबण्डामा उपमेयर पाएको माओवादीले दुर्गाजयन्ती राईलाई मेयर र विशन राईलाई उपमेयर उठाएको छ । यद्यपी माओवादीले कांग्रेसको विवाद चाँडै टुंगो लाग्न सके कांग्रेससँगै यसअघि कायम भएको सहमतिअनुसार चुनावमा होमिने बताइसकेको छ । त्यसका लागि उसले मेयरमा दर्ता गरिएको उम्मेदवारी फिर्ता लिने पनि जनाएको छ । यस नगरपालिकामा एमालेले कुमारप्रसाद आचार्यलाई मेयर, वीणादेवी राईलाई उपमेयर, जसपा नेपालले सूर्यबहादुर राईलाई मेयर, खम्बुवान राष्ट्रिय मोर्चाले सुवास राईलाई मेयर, एकीकृत समाजवादीले भागवत घिमिरेलाई उपमेयर, राप्रपाले चन्द्रकुमारी राईलाई उपमेयरको उम्मेदवार बनाउँदा यस नगरपालिकामा विकास राईले मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । १५ वडा रहेको यस नगरपालिकामा वडाध्यक्षका लागि ६४ र वडा सदस्यका लागि २ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन्  ।

हलेसी तुवाचुङ नगरपालिका
हलेसी तुवाचुङ नगरपालिकामा मेयरका लागि ७ र उपमेयरका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस नगरपालिकामा एक्लै लड्ने निर्णय गरेको कांग्रेसले विमला राईलाई मेयर र रमेश राउतलाई उपमेयरको उम्मेदवार बनाएको छ । कांग्रेस एक्लै लड्दा गठबन्धन आबद्ध अन्य तीन दलले यस नगरपालिकामा तालमेल गर्ने सहमति भएकोमा कार्यान्वयन हुन नसकेपछि एकीकृत समाजवादीबाहेकले छुट्टाछुट्टै उम्मेदवार अघि सारेका छन् । माओवादीले रुसिका राईलाई मेयर र अमेम्बर राईलाई उपमेयर, जसपाले अञ्जिल राईलाई मेयर,  एमालेले खडेन्द्र राईलाई मेयर र तुलसा बुढाथोकीलाई उपमेयर, राप्रपाले छत्र पुरीलाई मेयर र एबिना राईलाई उपमेयर, खम्बुवान राष्ट्रिय मोर्चाले तुलसीकुमार राई र मंगोल नेशनल अर्गनाइजेसनले  विनेश राईलाई मेयरमा उठाएको छ ।

ऐँसेलुखर्क गाउँपालिका
आठ गाउँपालिकामध्ये ऐँसेलुखर्कमा अध्यक्षको लागि ६ जना र उपाध्यक्षको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका श्रीबहादुर राई, नेकपा एमालेबाट गिरेन्द्रबहादुर राई, राप्रपाबाट विष्णुकुमार निरौला, जनसमाजवादी पार्टी नेपालबाट सुरेश राई र स्वतन्त्रबाट खगेन्द्र वन र सन्तवीर तामाङको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्षमा गठबन्धबाट नेपाली कांग्रेसका राजेशकुमार राजभण्डारी, एमालेबाट पुष्पकला भुजेल र राप्रपाबाट डोल्मा राजभण्डारीको उम्मेदवारी परेको छ । ७ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षका लागि २४ जना र वडा सदस्यका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् ।

केपिलासगढी गाउँपालिका
केपिलासगढीमा अध्यक्षको लागि ३ र उपाध्यक्षको लागि ४ जनाको उम्मेदवारी परेको छ । यस गाउँपालिकामा एक्लै लड्ने निर्णय गरेको कांग्रेसले अध्यक्षमा समीर राई र उपाध्यक्षमा राधा गिरीलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाहेकको तीनदलीय गठबन्धन (माओवादी, एकीकृत समाजवादी र जसपा) बाट अध्यक्षमा एकीकृत समाजवादीका माइतीराज राई र उपाध्यक्षमा माओवादीका सांगे शेर्पालाई उम्मेदवार बनाइएको छ । एमालेले अध्यक्षमा कृष्णकुमार राई र उपाध्यक्षमा मैया सुनुवारलाई उम्मेदवार बनाउँदा जसपा नेपालले गुरुराज राईलाई उपाध्यक्षको उम्मेदवार उठाएको छ । ७ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षका लागि २५ र वडा सदस्यका लागि ९४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

खोटेहाङ गाउँपालिका
खोटेहाङको अध्यक्ष र उपाध्यक्षका लागि २/२ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा चारदलीय गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा) का तर्फबाट माओवादीका उदिमबहादुर राई र एमालेबाट कविता राई उम्मेदवार बन्नुभएको छ । उपाध्यक्षमा चारदलीय गठबन्धनबाट कांग्रेसका रुपेश राई र एमालेका राजनकुमार बञ्जाराको उम्मेदवारी दर्ता भएको छ । ९ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षका लागि २५ र वडा सदस्यका लगि ८२ जनाले उम्मेदवारी दिएका छन् ।

जन्तेढुंगा गाउँपालिका
जन्तेढुंगाको अध्यक्षका लागि ४ र उपाध्यक्षका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा चारदलीय गठबन्धनबाट माओवादीकी अरूणादेवी राई, एमालेका शंखरबहादुर राई, राप्रापका भक्तबहादुर खड्का र जनसमाजवादी पार्टी नेपालका देवेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाइएको छ । उपाध्यक्षमा चारदलीय गठबन्धनबाट कांग्रेसका खेमबहादुर खड्का, एमालेकी विमला राई र जनसमाजवादी पार्टी नेपालकी सीता राईबीच प्रतिस्पर्धा हुने भएको छ । ६ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षका लागि १९ र वडा सदस्यका लागि ६३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका
दिप्रुङ चुइचुम्माको अध्यक्षका लागि एक स्वतन्त्रसहित ६ जना र उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कांग्रेसबाट नइन्द्र राई र उपाध्यक्षमा रमा कटुवाललाई उम्मेदवार बनाइएको छ । कांग्रेसले एक्लै लड्ने निर्णय गरेको यस गाउँपालिकामा गठबन्धन आबद्ध अन्य तीन दलले तालमेल गर्ने सहमति भए पनि माओवादी र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । माओवादीले अध्यक्षमा गोपालचन्द्र राई र उपाध्यक्षमा नैनकुमारी खत्री, एकीकृत समाजवादीले अध्यक्षमा ओमीराज राई र उपाध्यक्षमा अम्बिका राईलाई उम्मेदवार बनाएको छ । यस गाउँपालिकाको अध्यक्षमा विश्वराज राईले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । ७ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षका लागि ३१ र वडा सदस्यका लागि ८९ जनाले उम्मेदवारी दिएका छन् ।

वराहपोखरी गाउँपालिका
वराहपोखरीको अध्यक्ष र उपाध्यक्षका लागि ३/३ जनाको उम्मेदवारी परेको छ । यस गाउँपालिकामा कांग्रेससहित चार दलबीच गठबन्धन गर्ने निर्णय भए पनि माओवादी र एकीकृत समाजवादीले उपाध्यक्षमा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । कांग्र्रेसले शालिकराम बञ्जारालाई अध्यक्षको उम्मेदवार बनाउँदा कांग्रेसकै दीर्घबहादुर मगरले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । एमालेबाट गोमा मगरलाई अध्यक्षको उम्मेदवार बनाइएको छ । उपाध्यक्षमा माओवादीले निशना राई, एकीकृत समाजवादीले भुवलराज राई र एमालेले जीवनकुमार राईलाई उठाएको छ । ६ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षका लागि १९ जना र वडा सदस्यका लागि ७० जनाले उम्मेदवारी दिएका छन् ।

रावाबेँसी गाउँपालिका
रावाबेँसीको अध्यक्ष र उपाध्यक्षमा ४/४ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेससहितका चार दलले गठबन्धन गर्ने सहमति भएको यस गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ उम्मेदवार बने पनि उपाध्यक्षमा भने माओवादी र एकीकृत समाजवादी दुवैले उम्मेदवार उठाएका छन् । माओवादीले लिलानारायण श्रेष्ठ र एकीकृत समाजदवादीले विनोद राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले हरिकुमार पोखरेललाई अध्यक्ष र कौशिलाकुमारी गुरुङलाई उपाध्यक्ष, राप्रपाले भक्तबहादुर गुरुङलाई अध्यक्ष, जसपा नेपालले मोहनकुमार गुरुङलाई अध्यक्ष र झुमा नेपाललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । ६ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षका लागि २९ र वडा सदस्यका लागि ७१ जनाले उम्मेदवारी दिएका छन् ।

साकेला गाउँपालिका
साकेलाको अध्यक्ष  र उपाध्यक्षका लागि ४/४ जनाको उम्मेदवारी परेको छ । यस गाउँपालिकामा एक्लै लड्ने निर्णय गरेको कांग्रेसले रविप्रकाश राईलाई अध्यक्ष र सरिता खड्कालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।  एमालेले गोपीकृष्ण खड्कालाई अध्यक्ष र दिलकुमारी राईलाई उपाध्यक्ष, माओवादीले अर्जुनकुमार खड्कालाई अध्यक्ष र विर्सिका राईलाई उपाध्यक्ष, मंगोल नेशनल अर्गनाइजेसनले कवि राईलाई अध्यक्ष र जनसमाजवादी पार्टी नेपालले जयकुमार राईलाई उपाध्यक्षको रूपमा अघि सारेको छ । ५ वडा रहेको यस गाउँपालिकामा वडाध्यक्षका लागि २० र वडा सदस्यका लागि ७१ जनाले उम्मेदवारी दिएका छन् ।