
खोटाङ, वैशाख १४ । यतिबेला सबै राजनीतिक दल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित छन् । तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ भने पार्टीलाई आत्मनिर्भर बनाउन धमाधम खेती गरिरहेको छ ।
केही समय अगाडि आलु खेती सुरु गरेका पार्टीका नेता कार्यकर्ताले मंगलबार जिल्लाको रावाबेसी गाउँपालिकामा धान रोपेका छन् । उत्पादनबाट पार्टीलाई आत्मनिर्भर बनाउने उद्श्यले रावाबेसी गाउँपालिका–४ डुम्रे धारापानी स्थित कटहरे ब्यँसीमा दुई दिन लगाएर करीब ५ रोपनी खेतमा धान रोपेको अखिल (त्रान्तिकारी) विद्यार्थी संगठन खोटाङका उपाध्यक्ष सयन्द्र नाछिरिङ राईले जानकारी दिनुभयो ।
पार्टीका नेता कार्यकर्ता एवं स्थानीयबासीको सहयोगमा धान रोपिएको उहाँको भनाइ छ । केही समय अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आलु रोपेको नेकपाले केही समय पश्चात ऐँसेलुखर्क गाउँपालिकामा माछा पालन सुरु गर्ने तयारी गरिरहेको राईले बताउनुभयो ।
रोपाँईमा उपाध्यक्ष राईसहित पार्टीका तर्फबाट किराँत राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक जीवन किराँती, जिल्ला पार्टी सदस्य वा कार्यलय सचिव सुदिप शर्मा, पार्टी सदस्य तुला बा. मगर, गोपाल बुदाथोकी र युवा संगठन नेपालका जिल्ला संयोजक कमल थापाको उपस्थिती रहेको थियो ।
