
खोटाङ, वैशाख १८ । आसन्न स्थानीय तहको चुनावमा ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेद्वार दिनुभएका शन्तबीर तामाङलाई नेपाली कांग्रेसले पार्टीबाट निष्काषीत गरेको छ । गठबन्धनको भागबन्डामा सो गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले पाएको थियो । तर कांग्रेसका पालिका सभापति समेत रहनुभएका तामाङले अध्यक्ष पदमा बागी उम्मेद्वार दिएपछि पार्टीले उहाँलाई निष्काषीत गरेको हो ।
तामाङलाई कारबाही गरेको जिल्ला कार्यसमितिले पालिका समितिलाई पत्र पठाएर जानकारी दिएको छ । पत्रमा लेखिएको छ “गठवन्धनका तर्फबाट तोकिएको आधिकारिक उम्मेदवारको विरुद्धमा नेपाली काग्रेस ऐसेलुखर्क गाउपालिकाका सभापति शन्तबीर तामाङले स्वतन्त्र उम्मेदवार दर्ता गराएको र पार्टीका तर्फबाट सम्झाइ बुझाई गर्दा समेत मनोनयन पत्र फिर्ता नलिईएको हुँदा उहाँ लाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ को उपदफा ४ (क) बमोजिम ५ वर्षका लागि पार्टीको साधारण सदस्यता समेत कायम नरहने गरी निष्काषन गरिएको व्यहोरा जानकारी गराइन्छ ।”

