
राजकुमार भट्टराई (सरगम)
खोटाङ, वैशाख १९ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धका तर्फबाट रावाबेसी गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार फटिक कुमार श्रेष्ठले चुनाव जितेर गाउँपालिकाको चौतर्फी विकास गर्ने बताउनुभएको छ । देश संघीयतामा गएर स्थानीय तह गठन हुँदै गर्दा रावाबेसीलाई छुट्टै गाउँपालिका निर्माण गर्न आफु अनशन बसेको स्मरण गर्दै अव सो क्षेत्रको चौतर्फी विकास गर्ने जिम्मा जनताले आफुलाई दिने श्रेष्ठले बताउनुभएको हो ।
श्रेष्ठले भन्नुभयो “देशमा स्थानीय तह गठन हुँदै गर्दा अहिले रावाबेसी गाउँपालिकामा रहेका तत्कालीन डुम्रे धारापानी र दुबेकोल गाउँ विकास समिति ऐसेलुखर्क गाउँपालिकामा जान लागेको थियो, हौँचुर, कुभिण्डे, खार्पा र लामिडाँडालाई अन्य स्थानीइ तहमा गाभ्न लागिएको थियो, तर त्यसो गर्नु हुँदैन कुभिण्डे, खार्पा, लामिडाँडा, डुम्रे धारापानि, दुवेकोल र हौँचुर मिलेर छुट्टै स्थानीय तह बन्नु पर्छ भनेर म अनशन बसेँ, मलाई केही साथीहरुको साथ पनि मिल्यो र हामीले छुट्टै स्थानीय तह निर्माण गर्न सफल भएका हौँ ।” सुरुमा लामिडाँडा गाउँपालिका र खार्पा केन्द्र भएतापनि विस्तारै सबै नागरिकको माग अनुसार गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने पक्षमा नेपाली कांग्रेस पनि थियो र कांग्रेसकै साथ सहयोगमा अहिले रावाबेसी गाउँपालिका र हरमटार केन्द्र भएको श्रेष्ठले बताउनुभयो । तर सो विषयमा परेको मुद्दा अझै विचाराधिन अवस्थामा रहेको कारण अव मुद्दा फैसाला गर्ने वातावरण सृजना गरेर रावाबेसी नाम र हरमटारलाई स्थायी केन्द्र बनाउने आफ्नो पहिलो प्रथामिकता रहेको श्रेष्ठले सुनाउनभयो । “हिजो म अनशन बसेर यस गाउँपालिका निर्माण गरेँ, अव स्थायी केन्द्र हरमटार बनाएर यस गाउँपालिकाको चौतर्फी विकासमा कम्मर कसेँर लाग्नेछु, जसकालागि सबै जनताले मतदान गरेर विजयी गराउनेछन् भन्नेमा म विश्वस्त छु” श्रेष्ठले भन्नुभयो ।
रावाबेसी गाउँपालिकामा गठबन्धनले जिते के गर्नेछन् ?
बिजुले ऐसेलुखर्क र नुनथला हरमटार सडक कालोपत्रेको काम अघि बढाउदै प्रत्येक वडामा खनएिका सडकहरु व्यवस्थति गर्ने र सडक नपुगेका ठाउँमा पुर्याउने गठबन्धनको घोषणा पत्रमा उल्लेख गरिएको छ । दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणसँगै ६ वटै वडाहरुलाई समेट्ने गरी रिङरोडको अवधारणालाई अगाडि सार्ने साथै रावा खोलामा पक्की पुल निर्माण गर्ने, गाउँपालिकाको सुबिधा सम्पन्न भवन र वडा कार्यालय भवनहरु व्यवस्थित गर्ने, प्रहरी चौकी भवन निर्माण गर्ने, प्रविधिमैत्री व्यवसायीक शिक्षा प्रदान गर्दै सार्वजनिक शिक्षामा गुणस्तर कायम गर्ने, कुनै पनि राजनैतीक अवस्थाका शिक्षक कर्मचारीहरुलाई भेदभाव र सरुवा नगर्ने, अनुदान शिक्षकलाई निरन्तरता दिने, विद्यालय भवन आवश्यकताका आधारमा प्राथमिकताका क्रममा निर्माण गर्ने, दलित, जेहेन्दार, विपन्न र बहुमुखी प्रतिभा भएका प्रत्येक वडाका १/१ जना विद्यार्थी छनौट गरी प्राविधिक शिक्षाका लागि छात्रवृति प्रदान गर्ने, अपाङ्गता भएका व्यत्तिलहरुलाई निःशुल्क औषधी व्यवस्थित गर्ने, एक्सरे र भिडियो ऐक्सरे निःशुल्क सेवा प्रदान गर्ने, स्वच्छ खानेपानीको व्यवस्थापनका लागि उपर्युक्त मुहान छनौट/पहिचान गरी एक घर एक धाराको व्यवस्थापन गर्ने, फिल्टर ट्याङ्की निमार्ण गर्ने, रावा बेसी गा.पा. ४ डुम्रेधारापानी र वडा नं. ३ लामिडाँडा तिर्पामा वैकल्पिक स्वच्छ पिउने पानीको स्रोत व्यवस्थापन गर्ने गठबन्धनको प्रतिबद्धता र घोषणापत्रमा उल्लेख गरिएको छ ।
यस्तै, युवा उद्यमशिलताका लागि विभिन्न शिपमुलक तालिमको व्यवस्था गर्ने, कृषि र पशु तालिम केन्द्र स्थापना गरी कर्मचारीको व्यवस्था गने, विउ विजन प्रशोधन केन्द्र निर्माण गर्न उचित भूगोल पहिचान गर्ने, पालिका स्तरीय नर्सरी निर्माण गर्ने, कृषि उत्पादनलाई विक्रि वितरणका लागि बजारीकरणको लागि पालिकाको तर्फबाट बजारव्यवस्थापनको सु–निश्चित गर्ने, बालिका बचत कार्यक्रम सञ्चालन गर्ने, गाउँपालिकाभित्रका उत्कृष्ट छात्रछात्राहरुमध्येबाट छनौट गरी विज्ञान विषय अध्ययनको लागि पूर्ण छात्रवृतिको व्यवस्था गर्ने, दलित तथा विपन्न समुदायमा रहेका प्रथा, परम्परा, कला सँस्कृति तथा पेशा व्यवसायको संवद्र्धन तथा संरक्षण गर्ने, विभिन्न जातजातीहरुको भाषा, कला र सँस्कृतीलाई संरक्षण गर्न विशेष बजेटको व्यवस्था गर्ने लगायतको काम गठबन्धनका उम्मेद्वार विजयी भएमा हुने कुरा घोषणापत्रमा उल्लेख छ ।
गठबन्धनले जित्ने आधार के छ ?
वैशाख ३० हुते हुने स्थानीय तहको निर्वाचनमा रावाबेसी गाउँपालिको अध्यक्ष र उपाध्यक्षकालागि नेपाली कांग्रेस र माओवादी केन्द्र बीच गठबन्धन छ । अध्यक्षमा कांग्रेसका फटिक कुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादीका लिलानारायण श्रेष्ठ (सबिन) उम्मेद्वार रहेका छन् । त्यहाँका स्थानीय नागरिक र अघिल्लो निर्वाचनको मत परिणामलाई हेर्दा गठबन्धनका यी उम्मेद्वारहरुको विजयी शुनिश्चित जस्तै छ । तर चुनाव सोचे जस्तो भने हुने छैन् । पालिका अध्यक्षकालागि अन्य राजनीतिक दलका ब्यक्तिहरुको उम्मेद्वारी परेपनि गठबन्धनका फटिक श्रेष्ठ र एमालेका हरी पोखरेल बीच जीतकालागि प्रतिस्पर्दा हुने देखिन्छ ।
अघिल्लो निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको थियो । ६ वटा वडा रहेको यस पालिकामा ३ वडामा कांग्रेस, २ वडामा एमाले र १ वडामा माओवादी विजयी भएको थियो । गाउँपालिका अध्यक्षमा एमालेका लिलानाथ निरौला १ हजार ९ सय ९ मत ल्याएर विजयी हुँदा कांग्रेसका जनक कुमार कार्की १ हजार ५ सय ७५ मत पाएर दोस्रो र माओवादीबाट चेत कुमारी गुरुङ ९ सय ५९ पाउदै तेस्रो हुनुभएको थियो । अघिल्लो चुनावमा कांग्रेस र माओवादीले पाएको मतलाई जोड्दा एमाले भन्दा ६ सय २५ मत बढी हुन्छ । यो चुनावमा मतदाता पनि बढेका छन भने पुराना मतदाताले सोही पार्टीलाई मत दिन्छन् भन्ने पनि छैन् । रावाबेँसी गाउँपालिकामा अघिल्लो निर्वाचनमा ७ हजार ९ सय ८२ मतदाता थिए भने अहिले बढेर ९ हजार ६ सय १८ पुगेका छन् । पुराना आफ्ना मतदातालाई सुरक्षित राख्ने र नयाँ मतदाता केहीलाई आफ्नो पक्षमा मतदान गर्ने आधार निर्माण गर्ने हो भने गठबन्धनका उम्मेद्वारको जीत सुनिश्चित जस्तैने छ ।
रावाबेसी गाउँपालिकाका नागरिक के भन्छन् ?
कुनै पनि राजनीतिक दलका कार्यकर्ताले आफ्नो पक्षको उम्मेद्वारले चुनाव जित्छन् भन्नु स्वाभाबिक नै हो । किनकी हार्नकोलागि हैन चुनाव जित्नकैलागि उम्मेद्वार दिएर नेताहरु चुनावी मैदानमा उत्रिन्छन् र नेता कार्यकर्ता पनि जिताउने अभियानमा लाग्छन् । यसको मतलब यो हो की, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता गठबन्धनका उम्मेद्वारले जित्छन भन्नेमा ढुक्क छन् र भोट माग्न ब्यस्त छन् । यता नेकपा एमालेका नेता कार्यकर्ता पनि आफ्ना उम्मेद्वारले जित्छन् भन्नेमा ढुक्क छन र भोट माग्न उनिहरुपनि ब्यस्त छन् । तर त्यहाँका सर्वसाधरण ब्यत्तिहरुको भनाइलाइ मध्यनजर गर्ने हो भने रावाबेसी गाउँपालिकामा अव भुगोलको राजनीति हुने छैन् । यसको मतलब यदि कुभिण्डे, हौँचुर, डुम्रेधारापानी र दुवेकोलबाट अध्यक्षको उम्मेद्वार कोही हुन्थ्यो र खार्पा, लामिडाँडाबाट अध्यक्षको उम्मेद्वार कोही हुन्थ्यो भने गाउँपालिकाको केन्द्र बिषयले चुमावमा पहिलो प्रथामिकता पाउँथ्यो र मतदाताहरु गाउँपालिका केन्द्र खार्पा लान्छन र हरमटारमै राख्छन भन्ने बिषयलाई लिएर चार वडा र दुई वडा फरक धारमामा बिभाजीत हुने सम्भावना रहेको जानकारहरु बताउछन, तर अहिले गठबन्धनबाट अध्यक्षका उम्मेद्वार लामिडाँडा र एमालेबाट खार्पाका उम्मेद्वार हुँदै गर्दा भुगोलको राजनीतिको अन्त्य भएको छ । तर त्यहाँ भ्रम फिजाँय जस्तो गाउँपालिकाको केन्द्र सार्न सजिलो भने छैन् । र दुवै अध्यक्षका उम्मेद्वार जसले जितेपनि गाउँपालिकाको केन्द्र खार्पा जाने छैन् भन्नेमा अहिले त्यहाँका नागरिकहरु विश्वस्त हुन थालेका छन् । र हिजो गाउँपालिका निर्माण गर्न अनशन समेत बस्नु भएका गठबन्धनबाट अध्यक्षका उम्मेद्वार श्रेष्ठलाई सहानुभुतिको भोट समेत आउने देखिन्छ । यदि यसो हुने हो भने श्रेष्ठको जीत सुनिश्चित जस्तै छ । तर अर्का उम्मेद्वार पोखरेलले पनि नजित्लान भन्न चै सकिन्न ।
