Saturday, April 18News That Matters

हलेसी तुवाचुङमा एमाले, माओवादी र एसको गुपचुप गठबन्धन


खोटाङ, वैशाख १९ । हाल सरकारमा रहेका पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेसँगै देशका अधिकांश ठाउँमा गठबन्धन निर्माण भएको छ । कतै गठबन्धन कायम गरिएको छ भने कतै स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय भएको छ । तर नेकपा एमालेसँग गठबन्धन गर्न नपाइने भन्दै पाँच दलले निर्णय नै गरेपनि यता खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग गुपचुप गठबन्धन गरेको खुलेको छ । एमाले र माओवादीले नगर प्रमुख र उप–प्रमुखमा छुट्टै उम्मेद्वार दिएपनि एमालेका प्रमुख र माओवादीका उप–प्रमुखलाई मात्र भोट मागिएको एक स्रोतले बताएको छ ।

एमालेको तर्फबाट नगर प्रमुखमा खडेन्द्र साम्पाङ राई र उप–प्रमुखमा तुलसा बुढाथोकी, माओवादीको प्रमुखमा रुषिका राई र उप–प्रमुखमा अमेम्बर राईको उम्मेद्वार छ । तर यी दुई दल र एकीकृत समाजवादीले मिलेर एमालका प्रमुख र माओवादीका उप–प्रमुखमा मात्र भोट मागेको खुलेको हो । हलेसी तुवाचुङ नगरपालिकाका एक नेताले नाम नबताउने सर्तमा उनिहरुको गुपचुप गठबन्धन भएको खुलाएका छन् । केही नागरिकमाझ बुज्दा पनि एमालेको प्रमुखलाई मात्र र माओवादीका उप–प्रुखलाई मात्र भोट मागिएको बताएका छन् । माओवादीका अमेम्बर राईलाई नगर प्रमुखमा उम्मेद्वार बनाउने पार्टीले निर्णय गरेपनि मनोनय दर्ता गर्दा उहाँको नाम उप–प्रमुखमा दर्ता हुँदा कतै एमालेसँग तालमेल गर्न लागिएको त हैन भनेर आशंका गरिएको थियो । सो आशंका अहिले बास्तविकतामा परिणत भएको छ ।

गोप्य स्रोतको भनाइ अनुसार नगरपालिकाको ११ वटै वडामा पनि गठबन्धन यी तीन दलले गठबन्धन गरेका छन् । २, ३, ९, १० र ११ नम्बर वडामा एमालेका उम्मेद्वारलाई विजयी गराउनेगरी भोट मागिएको छ । यस्तै १, ५, ६ र ७ नम्बर वडामा माओवादी र ४ नम्बर वडामा एकीकृत समाजवादीका उम्मेद्वारलाई मात्र भोट मागिएको छ । वडा नम्बर ८ मा भने एमाले, माओवादी र जनता समाजवादी पार्टी बीच गठबन्धन गरेर उम्मेद्वारी दर्ता गराइएको छ ।

२०७४ को मत परिणाम कस्तो छ ?

मतदाताको हिसाबले जिल्लाको दोस्रो स्थानीय तह यस नगरपालिका नेपाली कांग्रेसले आफ्नो पकट क्षेत्र मान्दै आएको छ । अघिल्लो निर्वाचनलाई हेर्ने हो भने पनि सोही देखिन्छ । ११ वटा वडा रहेको यस नगरपालिकामा कांग्रेस ७ वटा वडामा, एमाले ३ वडामा र माओवादी १ वडामा विजयी हुँदा नगरपालिका प्रमुख र उप–प्रमुख दुवै कांग्रेसले जितेको थियो ।

नेपाली कांग्रेसका उम्मेद्वार इवन राईले ४ हजार ३ सय ९७ मत प्राप्त गर्दै विजयी हुँदा, नेकपा एमालेका खडेन्द्र राईले ३ हजार ९ सय ९९ मत पाएर दोस्रो, माओवादी केन्द्रका हरी गिरी १ हजार ६ सय ८६ मत पाएर तेस्रो हुनुभएको थियो । अघिल्लो निर्वाचनमा पराजित हुनुभएका खडेन्द्रराई एमालेले पुनः यो पटक पनि चुनावी मैदानमा उतारेको छ भने नेपाली कांग्रेसले उप–मेयरमा विजयी बिमला राईलाई यो पटक मेयरको उम्मेद्वार बनाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसबाट विजयी मेयर राईको मत भन्दा उप–मेयर राईको मत केही बढी थियो । तर अघिल्लै चिर्वाचनको मत परिणामलाई हेर्ने हो भने गोप्य गठबन्धन गरेका एमाले र माआवादीको मत बढी देखिन्छ । नगरपालिकामा अघिल्लो निर्वाचनमा १६ हजार ४ सय ९० मतदाता रहेकोमा अहिले बढेर २० हजार ९ सय २१ पुगेको छ । त्यसोत पछि थपिएका मतदाताले कसलाई मत दिनेछन् ? र पहिलेको मतदाताले सोही पार्टीका उम्मेद्वारलाई मत दिन्छन् दिदैनन् ? यो कुरामा निर्भर रहन्छ । जिल्लाको अन्य ६ पालिकामा कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्ने निर्णय गरेपनि हलेसी तुवाचुङका भने एक्लै लड्ने भएको हो । कांग्रेसले यस नगरपालिकामा मेयरमा विमला राई र उप–मेयरमा रमेश राउतलाई चुनावी मैदानमा उतारेको छ । मेयरकी उम्मेद्वार राई अघिल्लो पाँच वर्षमा उप–मेयरमा रहेर राम्रो काम गरेको भन्दै जनतामाझ लोकप्रिय हुनुहुन्छ । राईको लोकप्रियताले जीत हासिल गर्छ या गोप्य गठबन्धनले जित्नेछ ? त्यो भने आसन्न वैशाख ३० गते हुने निर्वाचनको परिणामले देखाउनेछ ।