Tuesday, April 21News That Matters

दुई पूर्व प्रअबीच वडाध्यक्षमा चुनावी प्रतिस्पर्धा

✍️पवन खड्का

खोटाङ, वैशाख २० । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको वराहपोखरी गाउँपालिका–१ को वडाध्यक्षमा दुई जना पूर्व प्रधानाध्यापकहरू चुनावी मैदानमा छन् । साविकको वडा नं.–५, डाँडाखर्कस्थित डाँडाखर्क आधारभूत विद्यालयका पूर्व प्रअ ढकबहादुर कार्की र साविकको वडा नं.–४, वालिङटार, पोखरीस्थित शंखेश्वरी माध्यमिक विद्यालयका पूर्व प्रअ शिवकुमार श्रेष्ठबीच वडाध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो । कार्कीलाई नेपाली कांग्रेस र श्रेष्ठलाई नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार उठाएको हो ।

२७ वर्ष शिक्षण पेशामा आबद्ध रही अवकाशको समय नजिकिँदै गर्दा प्रअबाट राजीनामा दिएर २०७४ सालको स्थानीय तह निर्वाचनबाट राजनीतिमा प्रवेश गर्नुभएका कार्की यस क्षेत्रका परिचित व्यवसायी पनि हुनुहुन्छ । नेपाली कांग्रेसबाटै गत निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहनुभएका कार्की नेकपा एमालेका टंककुमार मगरसँग ९३ मतले पराजित हुनुभएको थियो । दोस्रोपटक वडाध्यक्षको उम्मेदवार बन्नुभएका कार्की आफू निर्वाचित भएपछि कार्यकाल नसकिएसम्म सरकारी सुविधा नलिने घोषणासहित चुनावी मैदानमा उत्रिनुभएको छ । अर्कातिर ३९ वर्ष शिक्षण पेशामा आबद्ध श्रेष्ठ अवकाशको समय नजिकिँदै गर्दा शिक्षण पेशा त्यागेर पहिलोपटक राजनीतिमा आउनुभएको हो ।

पार्टीले वडाध्यक्षको उम्मेदवार बनाएपछि कार्की र श्रेष्ठलाई यतिबेला मतदाता फकाउन भ्याइनभ्याइ छ । लोकप्रिय मत ल्याएर जित्ने दाबीसहित दुवै जना नागरिकका घरदैलोमा पुगिरहनुभएको छ । वराहपोखरी गाउँपालिकामा कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धन भए पनि कांग्रेस र एमालेबाहेक अरू दलको खास प्रभाव नरहेको यस वडामा दुवै जना एकल दलबाट चुनाव लड्दै हुनुहुन्छ । विगतको मत परिणाम हेर्दा कसले जित्ने हो भनेर सजिलै भन्न सकिने अवस्था छैन । यसरी दुई पूर्व प्रअहरूबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । अझ रोचक कुरा त के छ भने कार्की र श्रेष्ठ दुवैको बसोबासस्थल पनि एकै गाउँ पोखरी हो ।