Friday, April 17News That Matters

खोटाङ : दश दिनमा प्रसूति व्यथाले गम्भीर तीन जना महिलाको हेलिकोप्टरबाट उद्धार

खोटाङ, वैशाख २० । खोटाङमा दश दिनको अवधिमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेका तीन जना महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानमा प्रसूति व्यथाले गम्भीर ती महिलाहरूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरेर सुविधा सम्पन्न अस्पताल पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।

जिल्लामा मंगलबार मात्र प्रसूति व्यवथाले गम्भीर एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाकी ३० वर्षीया सकुन्तला राईलाई उद्धार गरी प्रसूति गृह थापाथली, काठमाडौँ पठाइएको हो । अप्रेसनपछि रक्तचाप बढी भई काम्ने व्यथा लागेकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भनी प्राप्त जानकारी बमोजिम जिल्ला प्रशासनको सिफारिसमा आएको हेलिकोप्टर प्रयोग गरी दिक्तेल बजारबाट उद्धार गरेर काठमाडौ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि वैशाख ११ गते ऐँसेलुखर्क गाउँपालिका–३, ऐँसेलुखर्ककी २९ वर्षीया विमला थापा राई र वैशाख १५ गते केपिलासगढी गाउँपालिका–५ पोप्लुकी २६ वर्षीया दिपा राई श्रेष्ठलाई उद्धार गरिएको थियो ।