Friday, April 17News That Matters

खोटाङ : त्रिपाल बोकेर मतदाता फकाउन गाउँ छिरेको नक्कली नम्बर प्लेट ट्याक्टर प्रहरी नियन्त्रणमा

एउटै ट्याक्टरमा दुई वटा नम्बर प्लेट, तस्विर : मिलन राई

खोटाङ वैशाख २१ । खोटाङमा निर्वाचन आचारसंहिता बिपरीत बिभिन्न सामान वितरण गरेको पाइएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ठाउँमा मंगलबार एकै दिन आचारसंहिता बिपरीत सामान बितरण गरिएको पाइएको हो ।

नगरपालिका– ९ निर्मलीडाँडामा रातको समयमा त्रिपाल र चाउचाउ ट्याक्टरमा बितरणलागि लगिएको बताइएको छ । ट्याक्टरमा त्रिपाल र चाउचाउ मतदातालाई बितरण गर्न लगिएको भन्दै त्यहाँका युवाहरुले ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका बताइएको छ । सो सामानलाई चिउरीडाँडा प्रहरी चौकीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले पनि पुष्टी गरेको छ । नियन्त्रणमा लिइएको ट्याक्टर अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । एमालेका उम्मेद्वारको मातहतमा ट्याक्टर सामान लिएर गाउँ पसेको गठबन्धनका उम्मेद्वारहरुले बताएका छन् । उनिहरुले ट्याक्टर जिल्ला प्रहरी कार्यालयलमै ल्याएर बुझाउँदै छानबिनको माग समेत गरेका छन् ।

सामान बोकेर निर्मलीडाँडा पुगेको ट्याक्टरको नम्बर प्लेट समेत दुई वटा रहेको पाइएको छ । ट्क्याक्टरको इन्जीनमा को २ त ९३५४ नम्बर रहेको भने पिछाडी प्र २–०३–००१ त ४६६२ नम्बर रहेको छ ।

मंगलबार बिहान पनि खाल्लेमा नेकपा एमालेकाकै उम्मेद्वारहरुको मातहतमा खानेपानीको पाइप बितरण गरेको त्यहाँका स्थानीयले बताएका छन् । पाइप बितरण गरिरहेको सूचनाका आधारमा खानिडाँडा प्रहरी चौकीले पाइप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । नगरपालिकाको कार्यक्रम अनुसार पाइप बितरण गरिएको खाल्लेका वडा सचिव पवन श्रेष्ठले बताउनुभएको छ । तर निर्वाचनको समयमा बितरण गर्न नमिल्ने भएको कारण प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

आचारसंहितामा के छ ?

आचारसंहिताले धर्मको नाममा प्रचारप्रसार गर्न र ज्येष्ठ नागरिक, महिला तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको भावना वा प्रतिष्ठामा आँच आउन सक्ने प्रचारप्रसार गर्न उम्मेदवारहरूलाई रोक लगाएको छ ।
घर वा जग्गाधनीको अनुमति नलिई निजी घर वा जग्गा तथा सार्वजनिक उद्यान र सडकका पोललगायत सार्वजनिक स्थानमा दलको झन्डा वा उम्मेदवारको चिन्ह राख्न र टाँस्न आचारसंहिताले बन्देज गरेको छ।
उम्मेदवारहरूले कुनै समूह वा क्लबलाई आर्थिक सहयोग गर्न र जिन्सी उपहार दिन पनि रोक लगाइएको छ।
उम्मेदवार र उम्मेदवारको परिवारलाई डर देखाउने र धम्की दिने जस्ता गतिविधिबाट आचारसंहिताको उल्लङ्घन हुने आयोगले जनाएको छ ।
निर्वाचन प्रचारप्रसार गर्दा कसैको घर आसपासमा गएर परिवारका सदस्यको विरोध गर्न नहुने पनि आचारसंहिता छ।
आचारसंहिता अनुसार उम्मेदवारहरूले बढीमा दुई वटा सवारीसाधन वा चार वटा घोडा मात्र निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्न पाउँछन् ।
आचारसंहिता बिपरीत कार्य गर्नेलाई एक लाख सम्मको जरिवानाको व्यवस्ता छ ।