
राजकुमार भट्टराई (सरगम)
खोटाङ, वैशाख २१ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनले प्रत्येक घरमा स्वच्छ पिउँनपानीको धारा निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । गठबन्धनले १३ बुधे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पाँच वर्ष भित्रमा हरेक नागरिकको घरमा विश्व स्वास्थ्य संगठन (धजय) को मापदण्ड अनुसार स्वच्छ पिउँनपानीको ब्यवस्था गर्ने भएको हो ।
यस्तै युवाहरुलाई उद्यमशिलतामा जोड्न स्थानीय कच्चा पदार्थको उपयोग गरी साना तथा मझौला उद्योगको स्थापना गरेर ५ बर्षभित्र प्रत्येक वडामा १०० जनालाई स्वरोजगार बनाईने, नगरपालिकाभित्र कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने, गर्न नदिने र गर्नेलाई कारवाहिको दायरामा ल्याइने, नगरपालिकाको स्रोत साधनको दुरुपयोग नगर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । ७५ बर्ष माथिका वृद्धवृद्धा, अशक्त र अपांगता नागरिकलाई नगरपालिकाको सेवा लिन जादा निःशुल्क यातायात सेवा उपलब्ध गराइने, बालशिक्षा सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारी (लेखापाल, कार्यालय सहयोगी)लाई संघिय सरकारले तोकेको थप तलब तत्काल उपलब्ध गराईने, कृषि सहकारी, कृषि फार्म र कृषि समूह मार्फत निर्वाहमुखी कृषि प्रणालिलाई व्यवसायीकरण गरी नगरलाई कृषिमा आत्मनिर्भर बनाइने र कृषिबाली र पशुको विमा निःशुल्क गरिने पत्रमा उल्लेख छ ।
यस्तै गठबन्धनका उम्मेद्वार विजयी भएमा स्वास्थ्य विमा नगरेका विपन्न नागरिकहरुको विमा निःशुल्क गरिने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता स्वरुप मासिक रु.३ हजार रुपैयाँ उपलब्ध गराईने, नगरभित्र रहेका माद्यमिक विद्यालयमा खेल प्रशिक्षक नियुक्त गरी नियमित खेल प्रशिक्षण गराईने, लैङ्गिक उत्तरदायी बजेट कुल पुँजिगत बजेटको १० प्रतिशत विनियोजन गरी महिला शशक्तिकरणको काम गरिने, साथै हिंसापीडित बालबालिका र महिलाको लागि पुनःस्थापना केन्द्र स्थापना गरिने, विभेद रहित छवाछुतमुक्त नगर घोषणा गर्दै दलित समुदायहरुले परम्परागत रुपमा गर्दै आएका पेशा र व्यवसायलाई आधुनिकीकरण गर्न अनुदानको व्यवस्था गर्ने र स्वास्थ्य शिक्षा, रोजगारीको सुनिश्चितता गरिने गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीपार्टी गरी चार दलीय गठबन्धन रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरमा कांग्रेसका तिर्थराज भट्टराई र उप–मेयरमा माओवादीका विसन राई उम्मेद्वार छन् ।
