✍️पवन खड्का
खोटाङ, जेठ २ । खोटाङको वराहपोखरी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेको किल्ला तोडिएको छ । विगत २८ वर्षदेखि एकछत्र राज गर्दै आएको एमाले संघीयता कार्यान्वयनपछिको दोस्रो स्थानीय तह निर्वाचनमा पराजित भएको हो ।
यस वडामा २०७४ सालमा भएको निर्वाचनमा एमालेको सिंगो प्यानल विजयी भएकामा यसपटकको निर्वाचनमा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ । निकै प्रतिस्पर्धात्मक हुने अनुुमान गरिएको निर्वाचनमा कांग्रेसले यसपटक फराकिलो मतान्तरले एमालेलाई पराजित गरेको छ । गत निर्वाचनमा एमालेका टंककुमार मगर ६२६ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए । कांग्रेसका ढकबहादुर कार्कीले ५३३ मत ल्याएका थिए । गत निर्वाचनमा ९३ मतले वडाध्यक्ष हारेको कांग्रेस यसपटक फराकिलो मतसहित सिंगो प्यानल विजयी गराउन सफल भएको छ ।
यस वडामा कांग्रेसका कार्की पुनः वडाध्यक्ष उठेका थिए । गत निर्वाचनमा हार बेहोरेका उनी यसपटकको निर्वाचनमा ८२४ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका शिवकुमार श्रेष्ठ २५४ मत फराकिलो अन्तरले पराजित भएका छन् । उनले ५७० मत ल्याए । वडाध्यक्षमा विजयी कांग्रेसका कार्की र पराजित एमालेका श्रेष्ठ पूर्वप्रधानाध्यपक हुन् । २७ वर्ष शिक्षण पेशामा आबद्ध कार्की अवकाशको समय नजिकिँदै गर्दा गत निर्वाचनमा वराहपाखेरी–१, डाँडाखर्कस्थित डाँडाखर्क आधारभूत विद्यालयको प्रअबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् । ३९ वर्ष शिक्षण पेशामा आबद्ध श्रेष्ठ भने पहिलोपटक राजनीतिमा प्रवेश गरेका हुन् । वराहपोखरी–१, वराहपोखरीस्थित शंखेश्वरी माध्यमिक विद्यालयका पूर्र्वप्रअ श्रेष्ठ अवकाशको समय नजिकिँदै गर्दा हालै शिक्षण पेशा छाडेर वडाध्यक्ष उठेका हुन् । प्रअबाट भने उनले २०७३ सालमै कार्यकाल सकिएपछि राजीनामा दिइसकेका थिए । वडाध्यक्षमा विजयी कांग्रेसका कार्की र पराजित एमालेका श्रेष्ठ सरकारी सुविधा नलिने घोषणासहित चुनावी मैदानमा उत्रिएका थिए ।
मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमालेले वडाध्यक्षमा बलिया उम्मेदवार उठाएका कारण कसले बाजी मार्छ भन्नेमा अन्योल थियो । वैशाख ३० गते मतदानका दिन कांग्रेसको पक्षमा देखिएको जनलहरले कांग्रेस विजयी हुने धेरैको पूर्वानुमान थियो । उक्त अनुमान सही सावित भएको छ । कांग्रेसले सोचेभन्दा धेरै मत ल्याएर विजय हासिल गरेको छ ।
यस वडामा कांग्रेस र एमाले एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा थिए भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए । तीन दलको गठबन्धनबाट माओवादीका वडाध्यक्ष उम्मेदवार महेन्द्र मगरले ३५ मत प्राप्त गरेका छन् । वडा सदस्यहरूमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । खुुल्ला वडा सदस्यमा भूपजित राई ७४७ र रविन मगर ७२५, खुुल्ला महिला वडा सदस्यमा जानुुका सिवा ६८५ र दलित महिला वडा सदस्यमा कमला नेपाली ७७६ मत ल्याएर विजयी भएका छन् ।
के हुनेछ कांग्रेसलाई चुनौती ?
यस वडामा कांग्रेसले २८ वर्षपछि जित हासिल गरेको हो । एमालेको किल्लाको रूपमा रहेको यस वडामा कांग्रेसले निर्वाचन जितिरहँदा उसले आफ्नो प्रभाव कायम राख्न जनमुखी काम गर्नुपर्नेछ । गत निर्वाचनबाट विजयी एमालेका जनप्रतिनिधिले नागरिकको आवश्यकता र मागलाई सम्बोधन गर्न नसकेकै कारण यसपटकको निर्वाचनमा ऊ पराजित भएको हो भन्दा अत्युक्ति हुँदैन । भौगोलिक रूपमा विकट र सदरमुकामसँगको पहुँचबाट टाढा रहेको यस वडामा २०७४ सालको स्थानीय तहको निर्वाचनपछि पनि विकासका काममा खासै प्रगति देखिँदैन । विकासका मुख्य पूर्वाधारहरू सडक र विद्युतको अवस्थामा खास सुधार छैन । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको वडा हो वराहपोखरी–१ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल वराहपोखरी यसै वडामा छ । पर्यटन विकासमार्फत पनि यो वडाले राम्रो आम्दानी गर्न सक्छ । तर, विगतको नेतृत्वले पर्यटन विकासमा कुनै काम गरेन । पोखरीमा गुडिरहेको हुनुपर्ने डुंगा बगरमा घाम तापेर आराम गरिरहेको छ । ४५ लाख हाराहारी खर्च गरेर निर्माण गरिएको शंखेश्वर महादेवको मन्दिर अनाकर्षक भएपछि भत्काएर नयाँ बनाइएको छ । मन्दिर निर्माणमा दोहोरो खर्च भएको छ । विकासका लागि विनियोजित बजेट काम नभएपछि ‘फ्रिज’ भएर गइरहेको अवस्था पनि छ । एक समय नमुना विद्यालयको रूपमा चिनिने वडाकै एकमात्र माध्यमिक विद्यालय शंखेश्वरी माध्यमिक विद्यालयलाई राजनीति गर्ने अखडा जस्तो बनाइएको छ । विगतको नेतृत्वले गरेका यी काम कांग्रेसले दोहोर्याउन हुने छैन । सडक, विद्युत र खानेपानीको अवस्था सुधारका लागि नवनिर्वाचित नेतृत्वले रफ्तारमा काम गर्नुपर्नेछ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई गति दिएर घोषणा र प्रतिबद्धताअनुसार काम गरे आउँदा निर्वाचनहरूमा अहिलेको भन्दा अझै ठूलो मतान्तरले कांग्रेस फेरि विजयी हुन सक्छ ।
