
खोटाङ, जेठ १४ । खोटाङका पूर्वपत्रकार मणिराम दाहालको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले छानबिनको माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय दाहालको रहस्यमय मृत्यु भएको भन्दै आफन्तले शनिबार विरोध प्रदर्शन गरेका छन् ।
दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने मागसहित आफन्तले जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका हुन् । मृतकका आफन्तले ‘मणिरामलाई न्याय दे, मोबाइल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिए पनि आफन्तले बुझ्न मानेका छैनन् ।

दाहाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का तयार पार्ने क्रममा दाहालको साथमा भएको मोबाइल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । घटनाको प्रकृति हेर्दा ‘मृत्यु नभई हत्या भएको’ छोरा नवराजले बताउनुभयो ।
दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । दाहालको शव उनी बसेको कोठाभित्र भुइँमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो । मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताउनुभयो । दाहाल बस्दै आएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र त्यहाँ र्याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सूक्ष्म ढंगबाट अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुुपर्ने आफन्तको माग छ ।
यसैबीच नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले पनि घटनाको यथाशीघ्र अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन प्रहरी प्रशासनसँग माग गरेको छ । शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै युनियनले युनियन खोटाङका पूर्वसंस्थापक सदस्य एवं पूर्वअध्यक्ष दाहालको शरीरमा चोटपटक हुनु, भुइँमा सुतेको र सिरक ओढेको, नाक तथा मुखबाट रगत बगेको अवस्थामा भेटिनुले अप्राकृतिक ढंगले मृत्यु भएको देखिएको बताएको छ ।
‘स्मरण रहोस उहाँ बसोबास गर्दै आएको स्थान नै प्रहरीको सुरक्षासँग जोडिएको सबैलाई थाहा छ,’ प्रेस युनियन खोटाङका सचिव चिसाङ शेर्पाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ घटनाको सत्यतथ्य पत्ता लगाई चाँडोभन्दा चाँडो वास्तविकता बाहिर ल्याउन जोडदार माग गर्दछौँ ।’
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताउनुभयो ।
प्रेस युनियनको विज्ञप्ति

