Thursday, April 16News That Matters

गणतन्त्र दिवसमा खोटाङका ६ जना कैदीबन्दीको सजाय मिनाहा

फाइल तस्वीर

खोटाङ, जेठ १५ । १५ औँ गणतन्त्र दिवसको अवसरमा खोटाङका ६ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेकाहरूमध्ये असल चालचलन भएका ६ जनाको सजाय मिनाहा भएको हो ।

कर्तव्य ज्यान मुद्दाका ४ जना र ज्यान मार्ने उद्योग मुद्दाका २ जनाको सजाय मिनाहा भएको जिल्ला कारागार खोटाङका निमित्त जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार कर्तव्य ज्यान मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरिसकेका केपिलासगढी गाउँपालिका–७ सुङ्देलका सानकुमार राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका कैलाशबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पूर्णकुमार तामाङ र रावाबेँसी गाउँपालिका–६ हौँचुरका रामचन्द्र राईको सजाय मिनाहा भएको हो ।

यस्तै ज्यान मार्ने उद्योग मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरिसकेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका मनोज राई र सोही मुद्दामै ५० प्रतिशत कैद भुक्तान गरिसकेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका टिक्लु भनिने मिलन राईको पनि सजाय मिनाहा भएको कारागारले जनाएको छ ।

गणतन्त्र दिवसको अवसरमा सरकारले देशभरका ८ सय ३४ जनाको कैद सजाय मिनाहा गरेको छ ।