Friday, April 17News That Matters

खोटाङमा पनि देखियो अमेरिकन फौजी किरा

फौजी किराले नष्ट बनाएको मकै देखाउदै कृषक

खोटाङ, जेठ १८ । खोटाङमा यो वर्ष पनि अमेरिकन फौजी किरा देखिएको छ । जिल्लाको बिभिन्न ठाउँमा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि मकैमा फौजी किरा लागेको कृषकहरुले बताएका छन् ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश ठाउँमा मकैमा फौजी किरा देखिएको छ । दिक्तलसँगै रावा बेसी, दिप्रुङ चुइचुम्मा र साकेला गाउँपालिकामा पनि फौजी किरा देखिएको छ । फौजी किरा देखिएपछि मकै उत्पादनमा कमी आउने डरले कृषकहरु चिन्तीत बनेका छन् । हुर्किरहेको मकैको पात खाएर छिद्रा बनाइदिएको, मकैको गुभोको हरियो भाग खाएर मकै नष्ट हुने अवस्थामा पुगेको कृषकहरुको दुखेसो छ । यस्तै घोका लाग्ने थालेका मकैको घोगामा समेत क्षती पु¥याएको कृषक बताउछन् ।

कृषकहरुको मकैमा फौजी किरा लागेको थाहापाएपछि यतिबेला किरा व्यवस्थापन अर्थात नियन्त्रणका लागि स्वयं स्थानीय तह र कृषी ज्ञान केन्द्र खोटाङ लागिपरेको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले किरा नियन्त्रण गर्ने विषादी कृषकहरुलाई वितरण गरिरहेको छ भने रावा बेसी र साकेला गाउँपालिकाले पनि कृषी ज्ञान केन्द्रको मातहतमा विषादी खरिद गरेर बितरण गर्न लागिएको बुझिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा भने ज्ञान केन्द्र आफैले विषादी वितरण गरेकोे ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राम नन्दन यादवले जानकारी दिनुभयो । विषादी बितरणसँगै हरेक वडाका कृषी प्राविधिकको मातहतमा नै विषादी छर्ने काम भइरहेको उहाँको भनाइ छ । हालसम्म हेर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर ४ खाल्ले, १४ बुइपा र १५ वियखर्क, रावा बेसी गाउँपालिकाको वडा नम्बर ४ डुम्रेधारापानी र ५ दुवेकोलमा अत्याधिक फौजी किरा फैलिएको उहाँले बताउनुभयो ।

किरा नियन्त्रण गर्न के गर्ने ?

अमेरिकन फौजी किरा लाग्न नदिन मकै छर्नु अगाडिनै बिउ उपचार गर्नुपर्दछ । इमिडाकोल्प्रिड नामक रसायनिक विषादी चार ग्राम एक लिटर पानीमा घोलेर बिउ उपचार गरेर मकै छर्दा फौजी किरा नलाग्ने बाली संरक्षण अधिकृत यादवले बताउनुभयो । यदि फौजी किरा लागिहालेमा इमामेक्ट्रिन बेन्जुएक्ट नामक विषादी दश ग्रामलाई १८ लिटरको पानीमा घोलेर बेलुका पानी नपरेको अवस्थामा मकैमा छर्दा किरा मर्ने उहाँको भनाइ छ । किराको लार्भा सानो भएको अवस्थामा स्थानीय स्तरमा पाइने अमिलो, तितो, पिरो, टर्रो पातहरुबाट बनाइएको झोलले पनि नियन्क्रण गर्न सकिने बाली संरक्षण अधिकृत यादवले बताउनुभयो ।