Thursday, April 16News That Matters

प्रसूति व्यथाले गम्भीर जन्तेढुंगाकी एक सुत्केरीको निःशुल्क हवाइ उद्धार

खोटाङ, जेठ ३१ – खोटाङमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक सुत्केरीको निःशुुल्क हवाइ उद्धार गरिएको छ । जन्तेढुंगा गाउँपालिका–३ की २३ वर्षीया सुत्केरी गीता राईको राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो ।

राईको बच्चा जन्मिएको तर प्लेसेन्टा र रक्तश्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेकाले थप जटिलता आउन नदिन जिल्ला प्रशासन कार्यालयको पहलमा मंगलबार हेलिकप्टरबाट उद्धार गरी प्रसूति गृह, थापाथली, काठमाडौं पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।

ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उनीहरू उपचाररत स्थानीय स्वास्थ्य संस्थाले पठाएको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबार, काठमाडौंले पठाएको हेलिकप्टरबाट उद्धार हुँदै आएको छ ।