Thursday, April 16News That Matters

रावा बेसी : ६ नम्बर वडा हौँचुरको सेवा चापखर्कबाट पनि लिन सकिने

वडाध्यक्ष कार्की

खोटाङ, असार ४ । खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर वडा कार्यालयको सेवा अब चापर्खकबाट लिन सकिने भएको छ । वडा कार्यालय टाढा भएको कारण सास्ती खेपिरहेका पोखरी, चापखर्क र पैयाँका नागरिकले घर छेउबाटै वडाको सेवा पाउने भएका हुन् ।

साविकाको वडाहरु १ र २का नागरिकलाई वडा सम्म आएर फर्कन दिन नै माया मार्नु पर्ने अवस्था छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि अब हरेक महिनाको २ र १५ गते चापखर्क सामुदायिक भवनबाट वडाको सेवा प्रदान गरिने वडाध्यक्ष चिरनञ्जीवि कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्कीले भन्नुभयो, “संघीयताले गाउँघरमा सिंहदरबार ल्याएको भनिएपनि पैयाँ, चापखर्क र पोखरीका जनतालाई वडा सम्म आएर फर्कन एक दिन नै लाग्ने गरेको छ । त्यसैले उक्त क्षेत्रका नागरिकको सहजताकालागि हामीले उनिहरुको घर छेउमै गएर सेवा दिने निर्णय गरेका छौँ ।”

नवनिर्वाचित वडाध्यक्ष कार्कीले आफ्नो चुनाव घोषणा पत्रमा माथिल्लो भेगबाटै वडाको सेवा प्रदान गर्ने उल्लेख गरिएको र घोषणा पत्रमा लेखिएको कुरा व्यवहारमा समेत लागू गर्न सुरु गरेको बताउनुभयो । यस्तै उक्त क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य उपचारकालागि बाहिर जानु पर्ने समस्याको अन्त्य गर्दै सोही ठाउँमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था पनि आगामि दिनमा मिलाइने वडाध्यक्ष कार्कीको भनाइ छ ।