
खोटाङ, असार ४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका जनप्रतिनिधिलाई वार्षिक नीति तथा कार्यक्रम सम्बन्धि एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । निति तथा कार्यक्रम समबन्धि विज्ञ बिके महर्जनले जनप्रतिनिधिहरुलाई आज भर्चुअल माध्यमबाट अभिमुखिकरण तालिम प्रदान गर्नु भएको हो ।
महर्जचनले भर्चुअल माध्यमबाट अभिमुखिकरण गरेपश्चात नगरपालिकाका प्रमुख विमला राई, उप–प्रमुख रमेश कुमार राउत र निमित्त प्रमुख प्रशासकीय अधिकृत रवि किरण आचर्यले पनि अन्य जनप्रतिनिधिलाई भौतिक उपस्थितीमा अभिमुखिकरण गर्नुभएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ७ का वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा के कस्ता कार्यक्रमहरु समेट्ने, कस्ता कार्यक्रमलाई प्रथामिकता दिने लगायतका विषयमा तालिम प्रदान भएको प्रवक्ता गिरीले बताउनुभयो ।
गिरीले भन्नुभयो, “प्राय जनप्रतिनिधिहरु नयाँ छौँ । निर्वाचित भएको केही समय मात्रै भएको छ । त्यसैले आज सम्पन्न अभिमुखिकरण तालिमले आगामि आर्थीक वर्षकालागि कार्यक्रम ल्याउन सहज हुनेछ ।”
यतिबेला देशैभरका स्थानीय तहहरु आगामी आर्थीक वर्ष २०७९/०८० का लागि बजेट ल्याउने तयारीमा जुटेका छन् । हरेक असार महिनाको १० गते भित्र आगामि आर्थीक वर्षको लागि बजेट पेस गर्नुपर्ने नीति रहेको छ ।

