Thursday, April 16News That Matters

लामिडाँडा वडाको खेल मैदान व्यक्तिको नाममा

निर्माणाधिन खेल मैदान

खोटाङ, असार ५ । खोटाङको रावा बेसी गाउँपालिका–३ लामिडाँडाको खेल मैदान व्यक्तिको नाममा रहेको पाइएको छ । सुरुमा संस्थाको नाममा जग्गा नामसारी गर्दिने भनेर मैदान निर्माण गरेपनि हाल सम्म व्यक्तिकै नाममा जग्गा रहेको खुलेको हो ।

लामिडाँडा स्थित पात्लेमा खेल मैदान निर्माण भइरहेको छ । प्रदेश नम्बर १ सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेको मैदानको हालसम्म सम्याउने काम सकिएको छ । यस्तै मैदानको तलबाट तारजालीको ग्याबिङ र मैदान अगाडि पनि केही ठाउँमा सिमेन्ट प्लास्टर गरेर माथी उठाउने काम भएको छ । दुई आर्थीक वर्षमा २०/२० लाख गरी जम्मा ४० लाख लगानी भइसकेको मैदानको जग्गा अझै व्यक्तिकै नाममा रहनु शङ्कास्पद रहेको स्थानीयको भनाइ छ ।

मैदान निर्माण भइरहेको जग्गा केशर बहादुर श्रेष्ठको नाममा रहेको छ । श्रेष्ठको अगाडिनै मृत्यु भइसकेको हो भने जग्गा उहाँको कान्छा छोरोले खेल मैदानकोलागि निशुल्क प्रदान गर्ने घोषणा गर्नुभएको हो । वुबाको मृत्यु भइसको र आमा पनि बिरामी रहेको कारण जग्गा नामसारी गर्न कठिन भएको उपभोक्ता समितिका अध्यक्ष आयुस मगरले बताउनुभयो । मैदानको विषयमा चर्को आलोचना भएपछि स्व. श्रेष्ठका कान्छा छोराले नाता प्रमाणित गरेर केही दिन भित्रमै जग्गा संस्थाको नाममा नामसारी गर्ने तयारी रहेको अध्यक्ष मगरको भनाइ छ ।

यस्तै केशर बहादुर श्रेष्ठको नाममा रहेको जग्गा खेल मैदानलाई निशुल्क दिने भनिएपनि अर्का स्थानीय रेवती कुमार श्रेष्ठको २ रोपनी जग्गा पनि पुरिएको छ । श्रेष्ठले भन्नुभयो, “सुरुमा केही समय माटो राखेर पछि निकाल्ने भनिएपनि अहिले सम्म निकालिएको छैन । अहिले माटो निकाल्न माग गर्दा मैदानलाई जग्गा पुग्दैन, त्यसैले त्यो माटो निकाल्न मिल्दैन भन्छन् । त्यसरी हुँदैन मलाई जग्गाको क्षतीपुर्ति चाहिन्छ ।”