
खोटाङ, असार ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडा वडा कार्यालय र स्वास्थ्य चौकीको भवन चर्किएको छ । लगातारको हावाहुरी सहितको वर्षाको कारण भवन चर्किएको वडाध्यक्ष रुद्र कुमार राईले बताउनुभयो ।
बाहुनिडाँडाको वडा कार्यालय र स्वास्थ्य चौकी एउटै भवनबाट सञ्चालन भइरहेको छ । वर्षाका कारण भवन चर्किएपछि अहिले जोखिम मोलेर नागरिकलाई सेवा दिन बाध्य भएको राईको भनाइ छ । राईले भन्नु भयो, “केही दिन अगाडि लगातार हावाहुरी सहित वर्षा भयो । हावाहुरीको कारण छड्के पानीपरेपछि भवनको ३/४ ठाउँ चर्किएको छ । अन्य भवन नहुँदा अहिले वडा कार्यालय र स्वास्थ्य चौकी सोही भवनमा सञ्चालन गर्न बाध्य छौँ तर कुन दिन भत्किन्छ टुंगो छैन ।”
वि.स. २०६२ सालमा निर्माण गरिएको तत्कालीन गाउँ विकास समितिको उक्त भवनमा अहिले दुई कोठा बनाएर एउटा कोठा वडा कार्यालय र एउटा कोठा स्वास्थ्य चौकीकालागि प्रयोग गरिएको छ । बाहिरि गारो चर्किएपछि भवन भत्किन लागेको छ ।
