Wednesday, April 15News That Matters

हलेसी तुवाचुङ : कक्षा १ देखि ९ सम्मको परिक्षा नगरपालिकाले लिने


खोटाङ, असार ६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परिक्षा नगरले लिने निर्णय गरेको छ । विद्यार्थीको क्षमताको निष्पक्ष मुल्याङकनकालागि नगर कै मातहतमा परिक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकालले जनाएको छ ।
विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परिक्षण गर्दा विद्यार्थीको सही मुल्याङकन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ । त्यसैले आगामि दिनमा नगरपालिका भित्रका सबै विद्यालयमा (एसईई) जस्तै परिक्षा सञ्चालन गरिने सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १ बाहुनिडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताउनुभयो । कक्षा १ देखि ९ सम्मकालागि नै प्रश्नपत्र नगरपालिकाले तयार गर्नेछ । परिक्षाको समयमा पनि हरेक विद्यालयमा फरक विद्यालयका शिक्षक परिक्षा नियन्त्रक बनाएर परिक्षा सञ्चालन गरिने छ भने उत्तरपुस्तिका पनि नगरपालिकाकै मातहतमा परिक्षण हुने उहाँको भनाइ छ ।

राईले भन्नुभयो, “विद्यालय आफैले प्रश्नपत्र बनाउने, आफै परिक्षण गर्ने, यसो हुँदा कुन विद्यालयका विद्यार्थीको अवस्था कस्तो ? त्यहाँको पठनपाठन कस्तो छ ? भनेर थाँहा नहुने हुँदा यो वर्ष देखि सबै विद्यालयको परिक्षामा नगरपालिकाले प्रश्नपत्र बनाउने र परिक्षण पनि गर्ने गरी तयारी थालिएको छ ।” नगर शिक्षा समितिले निर्णय गरेसँगै अहिले कार्यविधि निर्माण भइरहेको छ । अब आर्थीक वर्ष २०७९÷०८० को बजेटमा यस कार्यक्रमलाई समावेश गरेर सबै विद्यालयको अर्घवार्षिक र वार्षिक परिक्षा नगरपालिकाको मातहतमा हुने उहाँको भनाइ छ ।

यसरी परिक्षा सञ्चालन गर्दा नतिजा राम्रो ल्याउनकालागि विद्यालयहरु बिच प्रतिस्पर्धा हुनेछ । जसले गर्दा शैक्षिक सुधारमा थप टेवा पुग्ने नगर शिक्षा समितिको निष्कर्ष छ । गुणस्तरीय शिक्षाकालागि नगरपालिकाले अंग्रेजी माध्यमबाट अध्ययन गराउने योजनकासाथ यो वर्षबाट माध्यमिक विद्यालयको कक्षा १ बाट सुरु गर्ने निर्णय समेत गरेको छ । जुन योजना कार्यन्वयनकालागि अहिले छलफल भइरहेको छ ।