Thursday, April 16News That Matters

मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा अनेरास्ववियु खोटाङले गर्यो वृक्षारोपण

खोटाङ, असार १४ । नेकपा एमाले निकट अनेरास्ववियु खोटाङले दिक्तेल बहुमुखी क्याम्पस वरीपरी वृक्षारोपण गरेको छ । मदन भण्डारीको ७१ औँ जन्मजयन्तीको अवसरमा आज अनेरास्ववियुले विभिन्न प्रजातीका विरुवा रोपेको हो ।

वि.स. २००९ साल असार १४ गते जन्मनु भएका भण्डारीको २०५० साल जेठ ३ गते जीप दुर्घटनामा परि निधन भएको थियो । नेकपा एमालेको तत्कालीन महासचिव रहनु भएका भण्डारीको सम्झनामा क्याम्पसमा विरुवा रोपिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो ।

अनेरास्ववियु खोटाङका अध्यक्ष मोहन पोखरेल, सचिव उपरकोटी र सहसचिव सुनिता राई लागायत विद्यार्थीको समुहले धुपि, रुद्राक्ष र सिन्कौलीका विरुवा रोपिएको बताइएको छ । “विकासकालागि आवश्यक परे रुख काट्नु पनि पर्छ तर रुख काट्ने मात्र हैन, एक ठाउँमा काटेपनि अन्य ठाउँमा वातावरणको संरक्षण गर्ने हरेक नागरिकको कर्तव्य हो । त्यसैले हामीले आज हाम्रा स्व. नेता मदन भण्डारीको सम्झनामा क्यामपसमा विरुवा रोपेका हौँ ।” अध्यक्ष पोखरेलले भन्नुभयो ।

नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले जनताको बहुदलीय जनावाद जबज को सिद्धान्त प्रतिपादन गर्नुभएको थियो । जबजले शान्तिपुर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्रथामिकता दिएको छ ।