
खोटाङ, असार १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । नगरपालिका भित्रका १५ महिना सम्मका सबै बालबालिकाले पूर्ण खोप लगाएसँगै हलेसी तुवाचुङ नगरपालिकालाई आज (बुधबार) एक कार्यक्रमका बिच बाजागाजा सहित पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
वि.स. २०७८ वैशाख देखि ०७९ वैशाखसम्ममा नगरपालिका भित्रका ५ सय ११ जनाले पुर्ण खोप प्राप्त गरेका छन् । जसमा ९६ प्रतिशत नगरपालिका आफैले खोप प्रदान गरेको हो भने अन्य ४ प्रतिशत बालबालिका नगरपालिका भन्दा बाहिर रहेका तर उनिहरुले पनि खोप प्राप्त गरिसकका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचर्यले जानकारी दिनुभयो । १६ देखि २३ वर्षसम्मका बालबालिकाको तथ्याङकका आधारमा सबै बालबालिकाले १५ महिना भित्रमै खोप प्राप्त गरिसकेका उहाँले बताउनुभयो ।
सबै बालबालिका पूर्ण खोप प्राप्त गरेसँगै आज एक कार्यक्रमका बिच, “पूर्ण खोप सुनिश्चत भविष्य, स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्ला समन्य समितिका प्रमुख सनबहादुर राई, पुर्व प्रमुख बबि चाम्लिङ, नगर प्रमुख बिमला राई, उपप्रमुख रमेश कुमार राउत, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्य प्रसाद सिक्देल, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचर्य, वडाध्यक्षहरु, नगरका अन्य कर्मचारी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।
यस्तै, नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता बनाउन निरन्तर खट्ने स्वास्थ्य संस्था, स्वाथ्यकर्मी एवं स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाले खादा तथा प्रमाणपत्रले सम्मान गरेको छ । वडा नम्बर ७ को स्वास्थ्य संस्थामा कार्यरत बसन्त कुमारी राईलाई उत्कृष्ट कर्मचारी घोषित गर्दै नगद र प्रमाणपत्रले सम्मान गरिएको छ । सोही कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाको वार्षिक प्रतिवेदन पुस्तक पनि बिमोचन गरिएको छ ।
राष्ट्रिय खोप कार्यक्रममा हाल सञ्चालन गर्दै आएका खोपहरु, एक वर्ष मुनिका बालबालिकालाई विसिजि एक मात्रा, डिपिडि–हेप बी–हिब तीन मात्रा, पोलियो तीन मात्रा तथा दादुरा रुबेला एक मात्रा दिइन्छ । साथै उच्च जोखिममा रहेका जिल्लाहरुमा १२ महिनाका बालबालिकालाई जेई खोप एक मात्रा दिइन्छ र गर्भवती महिलालाई दुई मात्रा टीटी खोप दिइन्छ । यि सबै खोप र दादुरा र रुबेलाको दोश्रो डोजसम्मका खोपहरु १५ महिनासम्ममा लगाउनु पर्छ । जसलाई पूर्ण खोप भनिन्छ । हाल नेपालमा १२ प्रकारका खोपहरु सञ्चालन भइरहेका छन् भने यस वर्षबाट टाईफाईको खोप पनि थपिएको छ । अब पूर्ण खोप प्राप्त गर्न १५ महिनासम्ममा १३ प्रकारका खोप लगाउनुपर्ने हुन्छ ।
