
तिर्थराज दाहाल (राजु)
खोटाङ, असार १६ । वि.स. २०४९/५० सालतिर सानो केटो म र म जस्ता धेरैको जनजीवन तराईको देहात ( गाउँमा ) हलि दाईहरू सत्ना,बौवा ,भर्ता लगायत ८/१० हल गोरू २०/३० जना रोपाहारलाई बिहान ७/८ बजे खाजा सुख्खा रोटि वा तात्तातो भात,प्याज,काँचो तेल सहित नुन खोर्सानी पानी हालेर छप्ल्याङ छप्ल्याङ पारेर ग्वामग्वाम खान्थे र खाईन्थ्यो ।
हलिले खाजा खाएको समयमा अनौभन्दा सानो भएपनि २/४ फेर घुमाईन्थ्यो । राष्ट्रिय धान दिवस थाहा थिएन तर धान खेत खलियानमा पहेँलपुर हुन्थे । साँझबिहान गोरू घुमाएर दाउनी गर्ने, धान राति पेट्रोलम्याक्स बालेर कत्रिने (बाला काटेर छुट्याउने), बयलगाडामा धान पराल लोड गरेर सुरक्षित रूपमा माच (कुन्यु) बनाएर राख्ने चलन थियो । मल नजिकको बजारमा नपाए पनि कालोबजारीका मल भए पनि सहजै पाईन्थ्यो । ढुवानीमा समस्या भएपनि साईकल, बयलगाडामा ल्याईन्थ्यो । धानको उचित मूल्य निर्धारण थिएन किसान मारमा नै थिए तर उत्पादन निरन्तर जारी थियो ।
आधुनिक प्रविधिका नाममा स्याँ…. गरेर बज्ने काठको शन्तोशी रेडियोमा अल ईण्डिया रेडियोमा बज्ने हिन्दी गीत र आक्कल झुक्कल यो रेडियो नेपाल हो भन्ने समाचार ! क्यामराको अनुहार देख्न पाईन्थेन भने श्यामश्वेत टिभिमा रामायण ,महाभारत र विश्वकप फुटबल हेर्न १२ भोल्ट गिलाब्याट्रि बाट काम चलाईन्थ्यो । आज ३० वर्ष पछि धान दिवस निरन्तर मनाईदै आईएको छ । ती खेत सबै चक्लाबन्दी गरियो । सबैमा कङ्क्रिड घर थपिए । खेतबारी बाँझै छ । अर्काको बटिया, अधिया गर्नेहरू सबै विदेशी भूमिमा छन् । सरकार फलाउनै नसकेको धानको मूल्य निर्धारण गर्छ । निजि स्कूलदेखि नेतासम्म एकदिने धान रोपाईँगर्छन् धान रोपेपछि बेलाबेलामा पानी,गोडमेल,हार्भेष्टिङ गर्ने काम छैन । हिजोका काँटावाला ( धान सङ्कलनकर्ता) आज बिचौलिया भाका छन्, उत्पादनमा काम लगाउनेहरू आज मेनपावरवाला भाका छन् , राजतन्त्र गणतन्त्रमा रूपान्तर भाको छ, गाउँमा ठगिखाने वर्ग देश चलाउने भाको छ ,काठमाडौको सरकार घरमा आको छ, आफुले फलाएको अन्न बेचेर प्याक खाको छ, जाउलो, रोटि दहि चिउरा,दल्हन, तेल्हन, फलफूल का ठाउँमा जङफुडले डेरा जमाएको छ , भन्सारमा कडाइ छ राज्य मल ल्याउन सक्दैन , कृषि औजारमा अनुदान, गोठ सुधार,टनेल सबै निकम्मा साबित भाका छन् ।
खाद्य सम्प्रभुताको वहस उरालिएको छ । भान्छामा उपलब्ध हुने हरेक खाद्य वस्तु अर्काकै छ । उत्पादन छैन खरिद मात्रै गरेर हामी अन्तर्राष्ट्रिय व्यापारी पोस्ने साधन भाका छौँ, उद्यमी हैन डिलरमा रमाउन थालेका छन् । उद्योग बन्द छन् , भएका पनि बन्द हुने अवस्थामा छन् , नाम मात्रको प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम चलिरहेको छ । टाढा जानू पर्दैन हामीले सधैं गालि गर्ने गरेको भारतको पञ्जाबमा गए पुग्छ कि खेती कसरी गर्ने ? राज्यले सहुलियत कसरी दिनुपर्ने रहेछ भनेर । सुख्खा भएपनि ईजरायललाई हेरे पुग्छ , युरोपियन देशको कुरै नगरौँ । भविष्यमा हुने खाद्य सङकटलाई आँकलन गरेर आज भारतले चामलमा रोक लगायो तर हामी मौका यहि हो भएको अलिअलि महँगोमा बेच्न पनि पछि पर्दैनौँ । बुद्ध एयरका मालिकले थोरै थोरै जग्गामा स्वामित्व भएका साना किसानहरूको जग्गा एकीकृत गरेर पूर्वमा सामुहिक खेति÷ सेलर मिल समेत खोलेर आत्मनिर्भर हुँने प्रयास गरिरहेका छन् त्यो राष्ट्रिय समाचार बन्दैन अब भोलिपर्सि बन्द भयो भन्ने समाचार फ्रन्ट पेजमा आउँछ । जय ! धान दिवस् !
लेखक तिर्थराज दाहाल (राजु) रावा बेसी गाउँपालिकाको शिक्षा शाखा प्रमुख हुनुहुन्छ ।
