
खोटाङ, असार १७ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले यातना विरुद्धको अधिकार सम्बन्धि अभिमुखीकरण गरेको छ । नेपाल प्रहरी, नेपाल ससस्त्र प्रहरी, पत्रकार लगायतका विभिन्न संस्थाका प्रतिनिधि राखेर आयोगले अभिमुखीकरण गरेको हो ।
दिक्तेल स्थित होटल शुभदिनमा शुक्रबार (आज) आयोजना गरिएको कार्याक्रममा यातना, यातना विरुद्धका प्रयास र राज्यले गर्नुपर्ने दायित्व सम्बन्धि आयोकका कार्यालय प्रमुख श्यामबाबु काफ्लेले अभिमुखीकरण गर्नुभएको थियो । यस्तै, यातना रोकथाम र नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका सम्बन्धि जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोमनराज अर्याल र यातनाजन्य कसूरमा अभियोजन सम्बन्धि व्यवस्थाका विषयमा सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता संगिता न्यौपाने ढुंगेलले अभिमुखीकरण गर्नुभएको हो ।
यातना कसरी हुन्छ र राज्यले गर्नुपर्ने दायित्व के हो ? भन्ने विषयमा आफ्नो प्रस्तुती दिदै आयोगका कार्यालय प्रमुख काफ्लेले पालिकाका न्यायिक समतिले काम गर्न नसकेको उल्लेख गर्नुभएको छ । स्थानीय तहका उपप्रमुख न्यायिक समितिको संयोजक हुने व्यवस्था छ तर उक्त समितिले खटेर काम गर्न नसकेको आयोगको निष्कर्ष छ । कानुनका कुराहरु न्यायिक समितिलाई थाहा नहुने र उक्त समितिमा कानुनका व्यक्तिहरु पनि नराखिएको हुँदा नजिता शून्य जस्तै रहेको उहाँको ठहर छ ।
यस्तै, न्यायाधिवक्ता संगिताले अब हरेक माध्यमिक विद्यालयमा कानुनको विषय पठनपाठन हुनुपर्ने बताउनुभएको छ । कानुनका सामान्य कुरा समेत थाहा नहुँदा हरेक व्यक्तिले समस्या खेपिरहेका कारण ५० पुर्णाङ्कको भएपनि माध्यमिक तहमा कानुनको विषय पठनपाठन हुनुपर्ने उहाँको भनाइ छ ।

