
खोटाङ, असार २१ । संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिए पश्चात स्थानीय तहले शिक्षा ऐन बनाएका छन् । ऐन निर्माणसँगै विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्थानीय भाषालाई समेटेको छ । हराउन लागेका अर्थात लोपोन्मुख अवस्थामा रहेका भाषा संरक्षण तथा सम्वद्र्धनमा नगरपालिका जुटेको हो । नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटारका विद्यालयहरुमा तिलुङ भाषाको पठनपाठन सुरु गरेको छ । भाषा आयोगले तिलुङ भाषालाई नेपालको लोपोन्मुख भाषा घोषणा गरेको छ । लोपोन्मुख भाषा संरक्षणकालागि भाषा आयोगसँगको समन्वयमा हलेसी तुवाचुङ नगरपालिकाले लगानि गरेर यस अघि बाटै अनौपचारिक रुपमा तिलुङ भाषा पठनपाठन गरिरहेको थियो । भर्खरै मात्र तेस्रो चरणको ४५ दिने कक्षा सम्पन्न भएको नगरका शिक्षा शाखा प्रमुख पदम बहादुर कार्कीले बताउनुभयो ।
लोपोन्मुख अवस्थामा रहेको उक्त भाषा संरक्षणका लागि नगरपालिकाले भाषाको डकुमेन्ट्रि समेत बनाएको छ भने यस शैक्षिक सत्रबाट च्यास्मिटारका सामुदायिक विद्यालयहरुमा ऐच्छिक विषयका रुपमा १०० पुर्णाङ्कको तिलुङ भाषाको पुस्तक औपचारिक रुपमा पठनपाठन हुन सुरु भएको हो ।नगरपालिकाले खरिद गरेर सोमबार च्यास्मिटार स्थित बालविकास आधारभुत विद्यालयमा कक्षा १ को भाषाको पुस्तक नगर प्रमुख विमला राईले हस्तान्त्रण गर्नुभएको छ । भाषा अध्ययन गराउन शिक्षक समेत नियुक्त गरिसकेको नगरपालिकाले जनाएको छ ।
यस्तै अन्य वडाहरु ५,६,७,८,९,१० र ११ मा स्थानीय पाठ्यक्रमका रुपमा चाम्लिङ भाषा पढाइ हुने भएको छ । वडा नम्बर ८ धितुङमा केही समय अघिसम्म चाम्लिङ भाषाको पठपाठन हुने गरेको थियो । अब धितुङका सबै सामुदायिक विद्यालय र ५ देखि ११ नम्बर वडाका विद्यालयहरुमा ऐच्छिक विषयकारुपमा कक्षा १ देखि ३ सम्म १०० पुर्णाङ्कको चाम्लिङ भाषाको पठनपाठन हुनेछ । उक्त भाषा पढ्न नचाहानेले अन्य विषय पनि पढ्न पाउने नगर प्रमुख राईले बताउनुभयो । पुराना पुस्ताको अन्त्यसँगै भाषा तथा संस्कार–संस्कृति पनि अन्त्य भएर जाने अवस्था आएको कारण भाषा संरक्षणकालागि स्थानीय पाठ्यक्रममा राखेर विद्यालयमै पठनपाठन सुरु गरिएको उहाँको भनाइ छ । चाम्लिङ भाषाका पुस्तक र शिक्षक पनि नगरपालिकाले व्यवस्थापन गरिसकेको छ । केही दिन अघि धितुङ स्थित सर्बावती विद्यालयमा पुस्तक हस्तान्त्रण समेत गरिसकिएको नगर प्रमुख राईले बताउनुभयो ।
नगरका अन्य वडा १,२ र ४ नम्बरमा पनि स्थानीय आवश्यकताका आधारमा पाठ्यक्रममा समावेश गरि पठनपाठन सुरु गर्ने शिक्षा शाखा प्रमुख कार्कीले बताउनुभयो । नगरपालिकामा चाम्लिङ राईहरुको बाहुल्यता छ । सोही अनुसार चाम्लिङ राईहरुको बाहुल्य रहेको वडाहरुमा सोही भाषालाई स्थानीय पाठ्यक्रममा समावेश गरिएको हो भने तिलुङ भाषा नेपालको लोपोन्मुख भाषा हो ।
खोटाङ र उदयपुरका विभिन्न स्थानमा बसोबास गर्ने राईमध्ये कम जनसंख्या भएको जातिमा तिलुङ पर्दछ । खोटाङको च्यास्मिटार, दुर्छिम, राजापानी, धितुङ, बाहुनीडाँडा, डिकुवा तथा उदयपुरका लेखगाउँ, बाँसबोटे, रिस्कु, रूपटार, ठानागाउँ, तावाश्री, ओखलढुंगाको सल्ले, सिराहको मुक्सार, तथा झापा, इलाम, सुनसरी, धादिङ, काठमाडौं लगायतका ठाउँमा तिलुङ राईको बसोबास छ ।


