
खोटाङ, असार १९ । हलेसी तुवाचुङ नगरपालिकामा शनिबार एकै दिन चार वटा कार्यक्रम सम्पन्न भएका छन् । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारमा बालिका, महिला र जेष्ठ नागरिक लक्षित चार कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाको ११ लाख लगानिमा निर्माण सम्पन्न चार कोठे आरसिसि च्यास्मिटार महिला कृषि सहकारी भवनको मेयर विमला राईले उद्घाटन गर्नुभएको छ । महिलाहरुलाई जीविकोपार्जनका लागि नगरपालिकाले सुरु गरेको ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था अवधारण अनुसार उक्त भवनको निर्माण गरिएको हो ।
महिलाहरुलाई एकताबद्ध गराएर आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले केही वर्ष अगाडि ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था कार्यक्रमको सुरु भएको हो । आवश्यकताका आधारमा भवन निर्माणकालागि नगरपालिकाले बजेट विनियोजन गरिरहेको छ भने हाल सम्म, च्यास्मिटार, दुर्छिम, र सल्लेमा भवन निर्माण भइसकेका छन् । हलेसीमा भवन निर्माणको काम निरन्तर भइरहेको नगरपालिकाले जनाएको छ । च्यास्मिटार महिला कृषि सहकारीमा आवद्ध गर्भवती तथा सुत्केरी (हजार दिने) २५ जना आमाहहरुलाई रु २५ हजारका दरले ६ लाख २५ हजारको चेक पनि शनिबार मेयर राई हस्तान्त्रण गर्नुभएको छ ।
“गर्भवती र सुत्केरी महिलाहरुको पोषणमा सहयोग होस, उनिहरुलाई आत्मनिर्भर बन्न टेवा पुगोस भनेर हामीले उक्त रकम दिएका हौँ” मेयर राईले भन्नुभयो । “कतिपय महिलाहरुको आर्थिक अवस्था नाजुक हुँदा गर्भवती र सुत्केरी भएको समयमा आवश्यक पोषणयुक्त खानेकुराको अभाव हुन्छ र उनिहरुको स्वास्थ्यमा समस्या आउने भएका कारण नगरपालिकाले यो कार्यक्रमलाई अगाडि सारेको हो ।”
जेष्ठ नागरिकलाई परिचयपत्र
शनिबार सम्पन्न सोही कार्यक्रममा नगरपालिकाले जेष्ठ नागरिकलाई परिचयपत्र पनि वितरण गरेको छ । च्यस्मिटारका १ सय ३ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको मेयर राईले जानकारी दिनुभयो । परिचयपत्र पाएपश्चात सवारी साधन भाडामा छुट, स्वास्थ्य उपचारमा छुट लगायत राज्यबाट पाउने विभिन्न सेवा सुबिधा पाउनलाई सहज होस भन्ने उद्धेश्यले परिचयपत्र वितरण गरिएको उहाँको भनाइ छ ।

९ जना आमाहरुलाई भौचर हस्तान्त्रण
हलेसी तुवाचुङ नगरपालिकाको “बालिका बचत” कार्यक्रम अन्तरगत ९ जना बालिकाका आमाहरुलाई शनिबार भौचर हस्तान्त्रण पनि गरिएको छ । छोरीको सम्मान र प्रोत्साहनमा सुरु गरिएको ‘बालिका बचत’ कार्यक्रम अन्तरगत छोरीहरुको बैंक खातामा रकम जम्मा गरेर भौचर आमाहरुलाई हस्तान्त्रण गरिएको मेयर राईले जानकारी दिनुभयो ।
यस कार्यक्रमअन्तर्गतको सहयोग पाउन गर्भावस्थामा आमाले चारपटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान छ । कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखाबीच वार्षिक ९ प्रतिशतले ब्याज उपलब्ध गराउने गरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्धति खाता खोल्ने सम्झौता गरिएको छ । बैंक खातामा नाममा जम्मा भएको रकम बालिका १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । नगरपालिकाले वार्षिक चार हजारका दरले तीन वर्षसम्ममा १२ हजार रकम जम्मा गर्नेछ । नगरपालिकाले जम्मा गरिदिएको खातामा स्वयं बालिकाको परिवारले समेत रकम बचत गर्नसक्ने छन् ।

