
खोटाङ, साउन ११ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेमा टोलटोलमा साउनमा माजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिने कतिपय नागरिक बैंकसम्म पुग्न समस्या भएका कारण वडाले टोलमै पुगेर भत्ता वितरण गरेको वडाध्यक्ष जेफर राईले जानकारी दिनुभयो ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत प्रदान गर्न अनिवार्य गरेपश्चात स्थानीय तहहरुले विभिन्न बैंकसँगको सहकार्यमा भत्ता प्रदान गर्दैआएका छन् । तथापी पहाडी र हिमाली भूगोलमा बैंकसम्म पुगेर भत्ता लिन समस्या भएको नागरिकहरुले गुनासो गर्दै आएका छन् । सोही गुनासोलाई मध्यनजर गर्दै वडाको हरेक टोलमा पुगेर भत्ता प्रदान गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
“सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिहरु प्राय अशक्त हुनुहुन्छ । बैंक आउनजान समस्या हुन्छ । त्यसैले उहाँहरुको समस्यालाई मध्यनजर गर्दै हामीले बैंकसँगको सहकार्यमा टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेका छौँ । टोलमा पनि आउन नसक्ने अशक्तहरुलाई घरमै पुगेर भत्ता प्रदान गरेका छौँ ।” राईले भन्नुभयो । टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने व्यत्तिहरुको हस्ताक्षर संकलन गर्ने र बैंकबाट रकम निकालेपश्चात पुनः टोलमै पुगेर भत्ता वितरण गरिएको उहाँको भनाइ छ । नागरिकको सहजताकालागि सुरु गरिएको यो कार्यलाई आफु वडाध्यक्ष रहुनजेल निरन्तरता दिने वडाध्यक्ष राईले बताउनुभयो ।
