
खोटाङ, साउन ११ । हलेसी तुवाचुङ नगरपालिकामा महिलाहरुलाई निशूल्क सेनेटरी प्याड वितरण गरिने भएको छ । नगरपालिकाले आफ्नै मातहतमा प्याड निर्माण गरेर नगर भित्रका महिलाहरुलाई वितरण गर्ने तयारी गरेको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो ।
नगरपालिकाले केही समय अगाडि सेनेटरी प्याड निर्माण गर्ने तालिमसमेत दिएको थियो । उक्त तालिममा सहभागि केही महिलाहरुले यतिबेला धमाधम प्याड निर्माण गरिरहेका छन् । उनिहरुले स्थानीय स्तरमा निर्माण गरेको प्याड नगरपालिकाले खरिद गरेर महिलाहरुलाई निशूल्क वितरण गरिने नगर प्रमुख राईले बताउनुभयो । अहिले हलेसी तुवाचुङ नगरपालिकाको वडाहरु ३ च्यास्मिटार, ५ दुर्छिम, ६ मंगलटार, ७ महादेवस्थान र ८ धितुङका महिलाहरुले तालिम पश्चात प्याड निर्माण गरिरहेका छन् । “स्थानीय स्तरमै सेनेटरी प्याड निर्माणकालागि हामीले तालिम प्रदान गर्यौ । तालिममा सहभागि महिलाहरुलाई सिलाई मेशीन र कटिङ मेशीन पनि प्रदान गरेका छौँ । सोही अनुसार अहिले प्याड निर्माण भइरहेको छ । अब उनिहरुले निर्माण गरेको प्याड नगरपालिकाले खरिद गर्नेछ र निशूल्क वितरण गरिनेछ ।” नगर प्रमुख राईले भन्नुभयो ।
भदौ महिनाबाट नगरपालिकाका सबै सामुदायिक विद्यालयमा अध्यानरत छात्राहरुलाई निशूल्क सेनेटरी प्याड वितरण गर्ने नगरको योजना छ । उहाँले भन्नुभयो, “अहिले बर्खे विदाका कारण विद्यालयहरु बन्द छन् । विद्यालय सञ्चालनमा आउनेसाथ छात्रालाई निशूल्क सेनेटरी प्याडको व्यवस्था गरिनेछ । चुनावी घोषणपत्रमासमेत हामीले महिलाहरुलाई अत्यावश्यक सेनेटरी प्याड निशूल्क उपलब्ध गराउछौँ भनेका थियौँ । सोही अनुसार विद्यालयमा अध्यानरत छात्राबाट वितरणको कार्य सुरु गरेर नगर भित्रका सबै महिलाहरुलाई निशुल्क प्याड वितरण गरिनेछ ।”
प्याड निर्माण गरिरहेका महिलाहरुले सोही पेशाबाट आत्मनिर्भरसमेत बन्ने उहाँको भनाइ छ । एक जनाले एक दिनमा २० थान सेनेटरी प्याड बनाउँछन् । एक थान प्याड नगरपालिकाले रु ५० मा खरिद गर्नेछ । “कतिपय महिलाहरुको प्याड खरिद गर्ने क्षमता हुँदैन भने प्राय महिलाहरुले बाहिरबाट आएको प्याड खरिद गरेर प्रयोग गरिरहेका छन् । तसर्थ नगरपालिकाको यस योजनाबाट सबै महिलाले सेनेटरी प्याड प्रयोग गर्ने पाउने छन् भने प्याड खरिद गर्दा बाहिर गएको रकम अब नगरपालिका भित्रै रहनेछ । जसबाट नगरपालिका भित्रकै महिलाहरु प्याड निर्माण गरेर आत्मनिर्भर बन्नेछन् । प्याड खरिद गर्ने रकम बचत हुनेछ, बाहिरबाट आएका प्याड प्रयोग गर्दा लाग्न सक्ने रोगबाट बचिनेछ, वातवरण प्रदुषण हुनेछैन् ।” नगर प्रमुख राईले भन्नुभयो ।
