Thursday, April 16News That Matters

साउन १३ गते दिक्तेलमा रक्तदान कार्यक्रम हुने


खोटाङ, साउन ११ । साउन १३ गते शुक्रबार दिक्तेल स्थित जिल्ला अस्पताल खोटाङमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी खोटाङसँगको सहकार्यमा नेकपा एमाले संबद्ध विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रगत जम्मा गर्ने जिल्ला अस्पताल खोटाङको ब्लड बैंकको क्षमता अनुसार १० जनासम्मले रक्तदान गर्न सक्ने रेडक्रसले जनाएको छ । जिल्लामा रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो । रक्तदान गर्न इच्छुक व्यक्तिले उक्त दिन जिल्ला अस्पतालमा आउन अनेरास्ववियुले अनुरोध गरेको छ । ब्लड बैंकको क्षमता अनुसार इच्छुक १० जनाले सोही दिन रक्तदान गर्न पाउने छन् भने अन्य व्यक्तिको रगत परिक्षण गरिने र आवश्यक परेको अवस्थामा रक्तदान गर्न बोलाईने रेडक्रसले जनाएको छ ।

यस्तै, ३१ औँ मनोज स्मृति दिवस सप्ताहको अवसरमा उक्त प्रतिष्ठानले रक्तदान गर्नेहरुकालागि फलफुलको व्यवस्थापन गर्ने जनाएको छ ।

रक्तदान कस्ता व्यक्तिले गर्ने ?

रक्तदान गर्ने व्यक्तिको उमेर १८ देखि ६० वर्ष हुनुपर्छ भने रक्तदाताको तौल ४५ किलोग्राम माथिको हुनुपर्छ । रक्तदातामा मलेरिया (औंलो), कुनै प्रकारको यौनरोग, जन्डिस, चिनी रोग, एड्स, क्षयरोग लागेको हुनुहुँदैन । रक्तदान गर्दा रक्सी वा अन्य कुनै लागूपदार्थ सेवन गरेको हुनुहुँदैन । त्यसैगरी रक्तदाताले पछिल्लो तीन महिना रक्तदान नगरेको हुनुपर्छ ।

गर्भवती, स्तनपान गराइरहेकी (सुत्केरीको ६ महिनासम्म), महिनावरी भइरहेकाले पनि रक्तदान गर्नुहुँदैन । रक्तदान गर्ने बेलामा रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन । रक्सी सेवनको २४ घण्टाभित्र रक्तदान गर्नुहुँदैन ।

एकपटकमा केवल ३५० मिलिलिटर मात्र निकाल्ने गरिन्छ। जुन कुल तौलको २०औं भाग मात्र हो। रक्तदान गरेपछिको २४ घण्टाभित्र शरीरको तरल भागले भए पनि परिपूर्ति गर्छ । यसरी संकलित रगत ब्लड बैंकमा ३–४ सातासम्म सुरक्षित राख्न सकिन्छ । रक्तदान गर्नु तीन घण्टाअगाडि पोषिलो खाना खानु राम्रो हुन्छ । त्यसैगरी रक्तदान गरेपछि खाजा तथा जुस खुवाउने चलन राम्रो हो । रक्तदान सम्बन्धी कतिपय गलत धारणा व्याप्त छ । यदि झोलिलो तथा पौष्टिक खानेकुरा खाएमा रक्तदानपछि कुनै थकाइ लाग्दैन । रक्तदानकै कारणले रगत कम नहुने डक्टर राजन ढकालको भनाइ छ ।