
खोटाङ, साउन १२ । करदाता सेवा कार्यालय खोटाङले एक वर्षमा १७ करोड बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयले १७ करोड ८८ लाख ४८ हजार ५ सय ५ रुपैयाँ २५ पैसा राजस्व संकलन गरेको हो ।
कार्यालय प्रमुख कर अधिकृत भिमसेन दाहालका अनुसार गत आर्थीक वर्षमा उक्त राजस्व संकलन भएको हो । आय कर, मूल्य अभिवृद्धि कर र अन्त शुल्क गरी तीन शीर्षकमा राजस्व संकलन हुने गरेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा कार्यालयले १६ करोड ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको उहाँले बताउनुभयो ।
२ हजार १ सय ८ नयाँ करदाता थपिए
करदाता सेवा कार्यालय खोटाङमा एक वर्षमा २ हजार १ सय ८ नयाँ करदाता थपिएका छन् । व्यक्तिगत पानमा १ हजार ३ सय ३२, मूल्य अभिवृद्धि करमा २९, आय करमा ६ सय ७८, सरकारी निकाय तथा सार्वजनिक संघ संस्था ४७ र अन्त शुल्क तर्फ २२ नयाँ करदाता थपिएका कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो ।
आन्तरिक राजस्व कार्यालय लहान मातहत २०७६ वैशाखबाट सदरमुुकाम दिक्तेलमा स्थापना भई सञ्चालनमा आएको करदाता सेवा कार्यालयबाट स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मूल्य अभिवृद्धि कर दर्ता, अन्तःशुल्क इजाजत तथा नवीकरण, कर संकलन, करदाताको विवरण संशोधनलगायत सेवा प्रवाह हुँदै आएको छ ।
