Thursday, April 16News That Matters

अनेरास्ववियु खोटाङले गर्यो रक्तदान कार्यक्रम

रक्तदान गर्दै एमाले खोटाङका उप–सचिव दिपनारायण रिजाल, तस्विर : दमन राई

खोटाङ, साउन १३ । नेकपा एमाले संबद्ध विद्यार्थी संगठन अनेरास्ववियु खोटाङले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी खोटाङसँगको सहकार्यमा अनेरास्ववियुले शुक्रबार (आज) जिल्ला अस्पताल खोटाङमा रक्तदान कार्यक्रम गरेको हो ।

नेकपा एमाले खोटाङका उप–सचिव एवं विद्यालय बिभाग प्रमुख दिपनारायण रिजालले रक्तदान गरेर कार्यक्रमको सुरुवात गर्नुभएको हो । आवश्यकता अनुसार आज पाँच जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रिजालसँगै याम खड्का, राम बुढाथोकी, मुस्कान राई र सुजन पराजुली रहेका छन् । अन्य दश जनाले रक्तदानकालागि नाम टिपाएका छन् । उनिहरुलाई रगत आवश्यक परेको अवस्थामा सम्पर्क गरेर बोलाइने नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्र बजिमयले बताउनुभयो ।

जिल्लामा रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव विष्णु उपरकोटीले बताउनुभयो । रक्तदान गर्नेहरुकालागि फलफुलको व्यवस्था मनोज स्मृति प्रतिष्ठान खोटाङले गरेको थियो । ३१ औँ मनोज स्मृति दिवस सप्ताहको अवसरमा फलफुल प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष एवं एमाले खोटाङका सचिव कुमार आचार्यले बताउनुभयो ।

खोटाङमा रगत अभाव छैन्

खोटाङमा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा रगत अभाव नभएको रेडक्रसले जनाएको छ । जिल्ला अस्पताल खोटाङ स्थित रेडक्रस मार्फत सञ्चालित ब्लड बैंकमा १ सय २० पिन (३०० एमएलको १ पिन) रगत संकलन गर्नसक्ने क्षमता रहेको छ । अघिल्लो वर्ष जम्मा १ सय ६ पिन रगत संकलन भएको थियो । जसमध्ये जिल्लामा ७१ पिन रगत प्रयोग भएको छ भने ३५ पिन रगत सुनसरी स्थित धरान र भक्तपुरमा पठाईएको ल्याव टेक्निसियन बोलराज आचार्यले जानकारी दिनुभयो ।

यस्तै, खोटाङका बिरामीलाई धरान, बिराटनगर र काठमाडौमा रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाइटी खोटाङलाई सम्पर्क गरेमा सजिलै रगत प्राप्त हुने रेडक्रस मन्त्री बजिमयले बताउनुभयो ।