
खोटाङ, साउन १९ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाईले नागरिकलाई सहजरुपमा सेवा दिनु आफ्नो पहिलो दायित्व रहेको बताउनुभएको छ । केही समय अगाडि खोटाङ आउनुभएका सिडियो सेडाईले जिल्ला प्रशासन कार्यालयमा आज भएको पत्रकारसँग परिचयात्मक कार्यक्रममा यस्तो बताउनुभएको हो ।
खोटाङका तत्कालिन सिडिओ फडिन्द्र दाहालको सरुवा पश्चात असार ३० गते नयाँ सिडिओकारुपमा सेडाई आउनुभएको छ । आफ्नो प्रमुख कार्य सहजरुपमा सेवा प्रवाह गर्नु, सुशासन कायम गर्नु रहेको उहाँले बताउनुभयो । “हामी काम गर्न बसेका मान्छे हौँ, हामी ठालु पल्टिएर बस्ने मान्छे हैनौँ, जुन सुकै कार्यालयमा सेवाग्राहि सम्पुर्ण प्रक्रिया पुराएर आएको छ भने उसको काम हुनुपर्छ । किनकी उसको त्यो अधिकार हो ।” सेडाईले भन्नुभयो । हरेक विपतको समयमा बाटो, विद्युत, टेलिफोन, खाद्यन्य, पानी, औषधी लगायत अत्यावश्यक सामाग्रीहरुको सहज आपुर्तीकालागि सधै प्रयास गर्ने उहाँको भनाइ छ ।
यस्तै, परिचयात्मक कार्यक्रममा उपस्थित पत्रकारहरुले जिल्लामा प्रशासनले गर्न नसकिरहेका एवं गर्न आवश्यक कामहरु बताएका थिए । तीन जना महिलाको हत्या भएको वर्षौँ बितिसक्दा पनि दोषी पत्ता नलाग्नु दुखद भएको भन्दै पत्रकारहरुले सिडिओ सेडाईको ध्यानकर्षण गराएका थिए । जिल्लामा निर्माणाधिन अवस्थामा रहेर अलपत्र परेका सडक, पक्की पुल, सदरमुकामको अव्यवस्थित वसपार्क, मनलाग्दी यातायत भाडा, सरकारी कार्यालयमा कर्मचारी नभेटिनु, होटल पसलमा मुल्यमा एकरुपता नहुनु लगायतका जिल्लामा भइरहेका समस्याहरु पत्रकारले सिडिओ सेडाईलाई सुनाएका थिए । जवाफमा सेडाईले आफ्नो हरेक समय उक्त समस्याको समाधानमा खर्चिने बताउनुभएको छ । अलपत्र परिरहेका सडकका ठेकेदारहरुलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन भनिसकेको उहाँको भनाइ छ ।
