
साउन २० । जुवातास खेलिरहेको अवस्थामा खोटाङका एकसहित १२ जना काठमाडांैमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा खोटाङको रावा वेसी गाउँपालिका–५ दुवेकोल घर भई हाल काठमाडौं महानगरपालिका–४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङसहित अन्य १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यसैगरी बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमती चोक बस्ने अर्जुन प्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
