Saturday, July 27News That Matters

दुई बहिनी : जो सडकमा बसेर खनिउँ बेच्छन् अनि कपी डट्पेन किन्छन्

खनिउँ बेच्ने दुई बहिनि

राजकुमार भट्टराई (सरगम)
खोटाङ, साउन ३१ । हलेसी–घुर्मी सडकखण्ड, पक्की भएपनि ठाउँ ठाउँमा कालोपत्रे उक्किएकाले आफुले चाहे जती सवारी साधन हाक्न नपाइने । सोही दिन फिर्ने गरी खोटाङको सदरमुकाम दिक्तेलबाट बिहान ११ बजे उदयपुरको घुर्मीसम्मको यात्रामा निक्लिएको म बाटोमा कतै नरोक्किने सोँचमा थिएँ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार प्रहरी चौकी भन्दा करीब ३ सय मिटर वर पुगेपछि प्लास्टीकमा केही बोकेर हात हल्लाई रहेका दुई उस्तै र उत्रै बहिनीहरु भेटिए ।

‘दाई किन्नुस्न, दाई प्लिज किन्नुस्न’, दुई बहिनीहरु एउटै आवाजमा भनिरहेका थिए । उनिहरु भनिमात्र रहेनन् बिच सडकमै उत्रिए । म मोटरसाइकल रोक्न बाध्य भएँ । ‘मैले के किन्नु पर्यो हौ नानिहो, के हो त्यो प्लास्टिकको ?’, ‘खनिउँ हो दाइ मिठो हुन्छ अनि गर्मिमा सित्तल पनि हुन्छ ।’ ओहो खनिउँ पो, पहिले बाख्रा चराउन जाँदा, घाँस काट्न जाँदा बोटभरी खनिउँका दाना देख्दा वास्ता नगर्ने मान्छे म, अब अहिले किनेर खाउँला त, कठै । मैले खनिउँ नकिन्ने निर्णय गरेर मोटरसाइकल थोरै अघि बढाएँ । ‘प्लिज दाइ किन्दिनुस्न् कपी किन्नु छके हामीले’, पछाडिबाट आएको यो आवाजले मन चसक्क बनायो र पुनः म रोक्किए, मोटरसाइकलबाट झरेँ । खनिउँ नलाने तर १÷१ सय रुपैयाँ दिने भनेपछि उनिहरु मुँस्कुराए, निन्याउरो उनिहरुको मुहारमा खुशी देख्दा मैले पनि ओठ बाधिराख्न सकिन । हतारमा भएपनि त्यी दुई बहिनिसँग एकैछिन गफिन मन लाग्यो र सडक छेउमा गएर हामी तीन जना बस्यौँ, उनिहरुले बोतलमा बोकेको पानी दिए, मैलेपनि घुटुक घुटुक पिएँ ।

एउटी बहिनीको नाम रमिला अधिकारी उनि च्यास्मिटार माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छिन रे । अनि अर्की बहिनी सुस्मा परियार उनि देउराली आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेको कुरा सुनाइन् । अन्य दिन उनिहरु झोलाभरी किताब बोकेर विद्यालय दौडिदा रहेछन्, अनि विद्यालय बन्द भएको दिन विभिन्न फलफुल बोकेर सडकमा बेच्न आउछन् रे । साउन महिनाको २८ गते खनिउँ बेचिरहदा सडकमा मसँग भेट्टिएका दुई बहिनि सिजन अनुसार अम्बक, लालिगुँरास, ऐँसेलु, अमला, टिम्बुर बेच्छौँ भन्दै थिए । विद्यालउ बिदा भएको दिन त्यसरी सडकमा गएर फलफुल बेच्दा कहिले २ सय, कहिले ५ सय अनि कहिले १ हजार सम्म कमाइ हुने कुरा उनिहरुले मलाई सुनाए । त्यो रकमले पढाइमा आवश्यक कपी र डट्पेन किन्ने, विद्यालयमा जाँदा खाजा खाने र घरमा आमा वुबालाई पनि दिने गरेको बताए ।
त्यो दिन धेरै सुमो, बस, मोटरसाइकल लगायतका सवारी साधन रोक्दा पनि कसैले खनिउँ नकिनेर निरास रहेछन् त्यी बहिनिहरु, मैले २ सय दिदाँ खुशी भए । केही समय पछि हलेसी तर्फबाट एउटा सुमो आयो बहिनिहरु त्यसैगरी खनिउँ किन्न बिन्ति बिसाउदै सडकमा उत्रिए । मैले प्रेस लेखेको जाकेट लगाएको कारण हुनसक्छ सायद, पत्रकार ज्युले भिडियो बनाउदै हुनुदो रहेछ भन्दै हलेसी दर्सन गरेर इलाम फर्किएको बताउने सुमन काफ्ले र उनको समुहले बहिनीहरुलाई १ हजार दिए ।

रकम दिदै सुमनको समुह

त्यसपछि सुमो घुर्मी तर्फ लाग्यो, बहिनीहरुसँग बिदा मागेर मैले पनि मोटरसाइकल स्र्टाट गरेर सुमो कुदेकै बाटो समाएँ । बहिनिहरु भन्दै थिए दाइ तपाइ त आइरहनु है, हामीले धेरै पैसा पाउदो रहेछौँ ।

बहिनीहरुसँगको गफ त सकियो, अब उनिहरुसँग त्यसैगरी फेरी भेट होला या नहोला त्यो मलाइ थाहाँ छैन, तर अब मैले मेरो आफ्नै मनसँग गफिनु पर्ने भयो । नेपालको संविधान २०७२ को भाग ३, धारा (३९) ले भन्छ, प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ । खैत यो संविधानले भनेका कुरा त्यी बहिनिहरुमा लागू भएको जो की खनिउका दाना बोकेर यात्रुहरुले किन्ने आशमा सडकमाख कुदिरहेछन् । यसो सम्झीए विद्यालय पनि हुन्छ भन्ने कुरा थाहै नभएका, भोकै अनि नांगै सिंह दरवार, सर्वोच्च अदाल, मानव अधिकार जस्ता कार्यालय कै अगाडि हिडिरहेका/बसिरहेका त्यी निर्दोष बालबालिकलाई नदेख्ने त्यो संविधानले, त्यो राज्यले, यो बिकट गाउँका दुई बहिनिहरुलाई कहाँ देख्छ ?

यात्राकै क्रममा त्यी दुई बहिनी र संविधान बिचको भिन्नतालाई सम्झीएर आक्रोस भएको म देशको अवस्था, त्यी बहिनीहरुको वुबाआमाको अवस्था सम्झीएर आफ्नो औकातमा फर्किएँ ।

यसरी बेच्छन् खनिउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *