Sunday, October 5News That Matters

खोटाङमा मृत भेटिए एउटै घरका छोराछोरी, प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि


राजकुमार भट्टराई (सरगम)
खोटाङ, साउन २४ गते । खोटाङमा मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि गरेको पाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापतेलका नवराज बस्नेतका छोरी र छोरा बिहिबार राती मृत भेटिएका थिए । प्रहरीलाई जानकारी नगराई शुक्रबार बिहान छोराछोरीको अन्त्यष्टि गरिएको पाइएको हो ।

साउन २२ गते बिहिबार घरबाट हराइरहेका १० वर्षकी छोरी र ४ वर्षको छोरा जङ्गलमा मृत भेटिएका थिए । सँगै हराएका अन्य ४ जना बच्चा भने सकुसल भेटिएको पूर्व वडाध्यक्षसमेत रहनुभएका स्थानीय इन्द्र बहादुर बस्नेतले बताउनुभयो । भीरबाट लडेर मृत अवस्थामा भेटिएका उक्त दुई बच्चाको शुक्रबार अन्त्यष्टि गरिएको उहाँको भनाइ छ । यता प्रहरीलाई भने घटनाको केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भीरबाट लडेर मृत भेटिएको बालबालिकाको अन्त्यष्टि गरिएको भनेर गोरखापत्र समाचारदातालाई जानकारी आएपछि प्रहरीसँग बुझ्न खोज्दा प्रहरीलाई जानकारी नदिएको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक शुसान्त मिश्रकाका अनुसार उक्त घटनाको विषयमा प्रहरीलाई कुनै जानकारी थिएन । जानकारी पाउनसाथ घटना स्थलबाट नजिकै रहेको दिप्रुङ चुइचुम्मा प्रहरी चौकीबाट प्रहरी खटाएर बुझ्दा घटना घटेको पाइएको मिश्रले बताउनुभयो । उक्त घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ । मृत भेटिएका बालबालिकाको कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टम नगरी गाउँले मिलेर अन्त्यष्टि गरेको पाइएको हो ।

मृतक बालबालिकाका बुवा नवराज बस्नेत शान्ति निकेतन मावि छोरम्बु सापतेलका कार्यालय सहयोगी हुन् । श्रीमतीले अर्कै बिबाह गरेपछि दुई छोरी र एक छोरासहित नवराज घरमा बस्दै आएका थिए । प्राय सधै छोराछोरी विद्यालयसँगै लिएर जाने नवराजले बिहिबार भने घरमा डिसहोम जडान गरेकाले ढिलाहुँदा छोराछोरीलाई आउदै गर भनेर विद्यालय एक्लै गएका थिए । तर, छोराछोरी विद्यालय गएनन् । विद्यालयबाट घर फर्किएपछि छोराछोरी घरमा नभएकाले खोज्दैजादा जङ्गलमा मृत भेटिएको बताइएको छ ।

नवराजका दुई छोरी र एक छोरासहित छिमेकीकाका तीन छोरीहरु हराएका थिए । उनीहरु साप्सु खोला तरेर थ्रि स्टार हाइडोपावरसम्म पुगेर फर्किएको पाइएको बताइएको छ । घर फर्किदा बाटो बिराएर उनीहरु वडा नम्बर २ स्थित खमारे भन्ने ठाउँमा पुगेका थिए । खमारेबाट एक ब्यक्तिले बाटो चिनाइदिएपछि उनीहरु सापतेलतीर लागेका थिए । तर, घर नपुगेपछि खोज्दै जादा बुवा नवराजले आफ्ना दुई सन्तान मृत भेटेका हुन् । बाटोमा बच्चाको चप्पल भेटिएपछि खोज्दै झर्दा खरुवा खोलामा जेठी छोरीको शव भेटिएको थियो । त्यसपछि विद्यालयका प्रधानाध्याप लगायत गाउँलेलाई बुवा नवराजले खबर गरेको स्थानीय बस्नेतले बताउनुभयो । छोरीको भन्दा केही माथि छोराको पनि शव भेटिएको उहाँको भनाइ छ ।

नवराजकै माइली छोरीसहित अन्य तीन जना बच्चा भने बाटो मुनी ओढारमा भेटिएका थिए । सँगै आइरहेका साथीहरु एक्कासी पछाडी नदेखिएपछि उनीहरु पनि खोज्दै फर्किएको तर नभेटे पछि आफुहरु अलपत्र परेर बसेको बताएका थिए । बिहिबार राती करिब ८ बजेको समयमा आफ्नै बुवाले मृत भेटेका बच्चाहरु रातभरी गाउँललेले त्यही रुँगेर शुक्रबार छोरम्बु ल्याएर दाहसंस्कार गरिएको बस्नेतको भनाइ छ । लडेर मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरिएको गाउँलेले बताएका छन् ।