खोटाङ, साउन १७ । खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा सञ्चालन भइरहेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम खोटाङमा शनिबारबाट सुरु भएको हो । नेपालमा यो कार्यक्रम बिहिबारबाट औपचारिकरुपमा सुरु भएको थियो । दशरथ रङ्गशालामामा बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम को शुभारम्भ गरेका थिए ।
देशभरका ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयहरूमा उक्त कार्यक्रम सञ्चालन हुने बताइएको छ । फिफाले नेपाल फुटबल संघ एन्फासँगको सहकार्यमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ सञ्चालन गरेको छ । फिफा एवं एन्फाको मान्यता पाएपछि दिक्तेल इङ्लिस बोर्डिङ स्कुलबाट यो कार्यक्रम सुरु भएको हो । बोर्डिङका करिब २ सय जना विद्यार्थीलाई कार्यक्रमको सुरुवातसँगै फुटबल प्रशिक्षण सुरु गरिएको प्रशिक्षक रोशेष श्रेष्ठले बताए । खोटाङ फुटबल संघको आयोजना एवं दिक्तेल इङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा शनिबार दिक्तेलस्थित माटिकोरे खेल मैदानमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरुवात गरिएको प्रशिक्षक श्रेष्ठले बताए । यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुनेछ । एक वर्षसम्म विद्यार्थीहरुले फुटबल प्रशिक्षण लिने छन् ।
विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पु¥याउने लक्ष्य राखेको छ । विद्यालय तहका विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक र नैतिक रुपमा सक्षम बनाउने उद्देश्यसहित कार्यक्रम अघि बढाइएको एन्फाले जनाएको छ ।
कार्यक्रमअन्तर्गत विद्यालयहरूमा फुटबल सामग्री वितरण, प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम, र फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोग गरी जीवनोपयोगी सीपहरू जस्तै अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशिताका बारेमा सिकाइने बताइएको छ ।