राजकुमार सरगम (भट्टराई)
खोटाङ, भदौ ८ । देश संघीय संरचनामा गयो, गाउँ गाउँमा सिंहदरबार पुग्यो भनियो । तर, यो कुरा नागरिकले सुने मात्र की महसुस पनि गरे ? विशेस गरी गाउँका स्थानीय सरकार यो प्रश्नले घेरिएका थिए, र अझै घेरिरहेका छन् ।
स्थानीय सरकारको निर्माणहुँदै गर्दा गाउँमा अभावनै अभाव थियो भन्दा फरक नपर्ला । सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, आधुनिक कृषि प्रणाली, रोजगारी, पर्यटन प्रवद्र्धन यि सबै कुराको अभावमा गाउँ बाँचिरहेको थियो । र अझै पनि त्यी सबै अभाव परिपुर्ति भइसकेका छैनन् ।
केही स्थानीय सरकारले त्यी अभावहरुलाई परिपुर्ति गर्ने प्रयास गरेका छन् । प्रयास गर्ने मध्येको एउटा स्थानीय सरकार हो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका । त्रि–धार्मिक स्थल हलेसी रहेको यस नगरपालिका हलेसीको नामले परिचित थियो । तर विकासले पछी । हिन्दु, बौद्ध र किराँत धर्मको सङ्गमस्थल हलेसीमा दर्शन गर्न नेपालसँगै, भारत, चिन, बंगलादेश, भुटान, श्रीलङ्का लगायतका देशहरुबाट धार्मिक पर्यटकहरु हलेसीमा हरेक वर्ष हजारौँ सङ्ख्यामा आउथे । तर, हलेसी क्षेत्रमा विकासका लागि आवश्यक बजेट भने आउदैन थियो ।
हलेसी लगातार प्रथम
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङ जिल्लाको स्थानीय तह मध्ये हलेसी तुवाचुङ नगरपालिका पहिलो भएको छ । मेयर विमला राईले हाँकेको यस नगरपालिकाले जिल्लाका अन्य ९ पालिकालाई पछि पर्दै लगातार तेस्रो पटक जिल्ला प्रथम भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङले आर्थिक वर्ष २०८०/८१ को संस्थागत क्षमता स्वमूल्याङ्कनमा १०० पुर्णाङ्कमा ८६.५० अङ्क पाएको हो । कोही प्रदेशको हलेसी चौथो भएको छ । आर्थिक वर्ष ०७९/०८० र २०७८/७९ मा पनि हलेसी तुवाचुङ जिल्ला प्रथमनै भएको थियो ।
स्थानीय तहहरुको कार्यप्रक्रिया र उपलब्धि लेखाजोखा गरी शासकीय पद्धति र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन गरिदै आएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्धमा, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा बिपद व्यवस्थापनन गरी १० शिर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।
नगरपालिकामा सुशासन र पारदर्शितालाई ध्यानमा राखी हरेक काम कानून र नियम अनुसार सञ्चालन गरिरहेकाले हलेसी तुवाचुङको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा राम्रो आइरहेको मेयर विमला राईले बताउनुभयो । खोटाङ जिल्लाको सबै भन्दा कम बेरुजु हुने स्थानीय तह हलेसी तुवाचुङ नगरपालिका हो । आर्थिक वर्ष २०८०/०८१ मा हलेसीको बेरुजु शून्य प्रतिशतमा झरेको छ । २३ लाख हाराहारीमा मात्र हलेसी तुवाचुङ नगरपालिकाको बेरुजु रहेको छ ।
पर्यटक प्रवद्र्धनमा फड्को
हलेसी तुवाचुङ नगरपालिका पर्यटकीय स्थलकोरुपमा अथाह सम्भावना भएको क्षेत्र हो । विमला राईको नेतृत्वमा रहेको हलेसी तुवाचुङ नगरपालिका सरकारले उक्त सम्भावनालाई सफलतामा बदलिरहेको छ । नगरपालिकासँग प्रयाप्त बजेट नभएपनि प्रदेश र संघीय सरकारसँगको समन्वयमा हलेसी क्षेत्रका पर्यटकीय स्थलहरुमा भौतिक संचरना निर्माण गरेर प्रर्यटन प्रवर्दन गरिरहेको छ ।
ढुङ्गे बँगैचा, तुवाचुङ पदमार्ग, मञ्जुश्री पदमार्ग
छोरीको लागि दुरदृष्टि योजना
छोरीको शिक्षा र उज्ज्वल भविष्यका लागि हलेसी तुवाचुङ नगरपालिकाले एउटा दुरदृष्टि योजना लागू गरेको छ । जन्मीएको तीन वर्षसम्म हरेक वर्ष ४ हजारका दरले खाता खोलेर नगरपालिका भरिका हरेक छोरीलाई रकम जम्मा गर्ने गरेको छ । उसले १५ वर्ष पुगेपछि उक्त रकम निकाल्न पाउने व्यवस्था छ । यस सेवाको लागि नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा अनिवार्य सुत्केरी हुनु पर्ने नियम कायम भएकोहुँदा आमा र शिशु मृत्युदरसमेत घटेको मेयर विमला राईले बताउनुभयो ।
यस्तै, नगरपालिकाले गर्भवती महिलाको लागि स्वास्थ्य संस्थासम्म आवतजात गर्न निःशूल्क एम्बुलेन्सको व्यवस्थापन गरेको छ । नगरपालिका भित्रका स्वास्थ्य संस्थासम्म जानआउन कोही पनि गर्भवती तथा सुत्केरी महिलालाई खर्च लाग्दैन् ।
भौतिक पूर्वाधार
हलेसी तुवाचुङ नगरपालिकाले विद्यालय, स्वास्थ्य चौकीदेखि लिएर वडा कार्यालयहरुको सुविधा सम्पन्न भवनहरु निर्माण गरिरहेको छ । ११ वडा रहेको नगरपालिकाको १० वडामा सुविधा सम्पन्न वडा कार्यालयहरु निर्माण भइसकेका छन् । सामान्य भवनबाट सेवा प्रवाह गरिरहेको नगरपालिकाले सुविधा सम्पन्न भवन बनाउन यस वर्ष टेण्डर खुलाएको छ । नगरपालिकाका हरेक वडामा ग्रामिण सडकहरु निर्माण गरिएको छ । मध्यपहाडि लोकमार्गले प्राय सबै वडालाई छोएको छ । तर, निर्माण व्यवसायीले समयमै काम नगर्दा सबै सडक स्तरोन्नती हुन सकेको छैन् । च्यास्मिटार–सालचौतारा–डिकुवा कुर्लेघाट सडक कालोपत्रेको काम भइरहेको छ । हालसम्म प्राय सबै वडामा विद्युत पुगेको छ । मुख्य सडकहरु स्तरोन्नतीको चरणमा छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्र प्राथमिकतामा
हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा सामुदायिक विद्यालय छन् । विद्यालयको भवनहरु धेरै जीर्ण थिए । १५ वटा भन्दा बढी विद्यालयको भवनहरु नगरपालिकाले निर्माण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन आइसिटि, इन्टरनेटहरु जोडेको छ । संविधानमा उल्लेख भएअनुसार कक्षा १२ सम्म निःशूल्क पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ । कक्षा ४ देखि ९ सम्मको वार्षिक परिक्षा नगरपालिका स्तरीय एसईई मोडेलमा सञ्चालन गर्दै आएको छ । सुत्केरी विदामा बसेका शिक्षकहरुको सट्टमा पढाउन सट्टा शिक्षक राखेको छ । दलित समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्नका लागि छात्रवृद्धिको व्यवस्था गरेको छ ।
यस्तै, स्वास्थ्य क्षेत्रमा १५ शैयाको नगर अस्पताल निर्माण सम्पन्न हुन सकेको छैन् । तथापी एमबिबिएस डक्टरसहितको नगर अस्पताल सञ्चालन गरिरहेको छ । स्वास्थ्य बीमा बापतको उपचार हुने व्यवस्था पनि गरिएको छ । अपांगता, टुहुरा, एकल पुरुष र एकल महिलाहरुको बीमासमेत निःशूल्क गरिदिएको छ । हरेक वडामा एउटा मात्र स्वास्थ्य संस्थाहुँदा टाढाका नागरिकलाई आधारभूत स्वास्थ्य उपचारमा समस्या भएपछि ठुलो भूगोल भएको वडामा ६ वटा शहरी स्वास्थ्य इकाइ सञ्चालन गरेको छ । हरेक वर्ष स्वास्थ्य शिविरहरु भइरहेको छ । शिविर सञ्चालन गरेर आँखाको शल्याक्रिया गरिरहेका छ । हरेक वर्ष पाठेघरको समस्या भएका दिदिबहिनीहरुको निःशूल्क शल्याक्रियामार्फत उपचार गर्ने काम गरिरहेको मेयर विमला राईको भनाइ छ ।

पर्यटनसँग कृषि
“गोठदेखि ओठसम्म, बारीदेखि बजारसम्म” यो हलेसी तुवाचुङ नगरपालिकाको कृषि नारा हो । सुख्खा क्षेत्र भएकाले नगपालिकाले सोचे जस्तो कृषिमा फड्को मार्न सकेको छैन् । तथापी स्थानीय उत्पादनलाई जोड दिएको छ । हलेसीमा कृषि उपज संकलन र दुध डेरी सञ्चालन भइरहेको छ । नगर सुख्खा क्षेत्र भएकाले आकाशे पानीलाई संकलन गरेर करीब ३ सय घरधुरी अहिले तरकारी खेतीमा लागेको मेयर राईको भनाइ छ । दुधमा आत्मनिर्भर हुन नगरले भैँसी प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेर करिब १०० परिवारलाई भैँसी वितरण गरेको छ । उक्त क्षेत्रको महत्व बोकेको गहत, कपास र बदाम खेती प्रवद्र्धन कार्यक्रमहरु भइरहेका छन् । सुख्खा क्षेत्रमा सिँचाइका लागि विभिन्न ठाउँमा लिफ्टिङ योजना सञ्चालन गरिएको छ ।
खानेपानीको समस्या हुँदैछ अन्त्य
हलेसी तुवाचुङ नगरपालिका नेपाल सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको ठाउँ हो । करिब १ अर्बको लगानीमा दुधकोशीबाट पानी लिफ्टिङ गर्ने योजना सरकारले अघि सार्यो । तर, निर्माण व्यवसायीले समयमै काम नगर्दा हालसम्म सञ्चालनमा आएको छैन् । तथापी नागरिकको खानेपानीको समस्या समाधानका लागि नगरपालिकाले विभिन्न योजना अघि बढाएको मेयर राईको भनाइ छ । सानो लिफ्टिङ योजना सुरुहुँदैछन्, पुरानो लोचा खानेपानी आयोजना र शहरबोटे खानेपानी योजनाको काम भइरहेको छ । उक्त दुई वटा योजना सम्पन्न पश्चात धेरै नागरिकको घरमा खानेपानी पुग्ने छ ।
सुशासन र पारदर्शिता
मुख्य कुरा सरकारले सुशासन र पारदर्शितामा ध्यान दिनु पर्छ भन्ने सोँच सधै अगाडि आउने गरेको मेयर विमला राईको भनाइ छ । सुशासन र पारदर्शितामा भन्ने बित्तिकै प्रशासनीक काम अर्थात सेवा र वित्तिय अनुशासन जोडिन्छ । यि दुवैलाई हेर्ने हो भने यो नगरपालिका क्रमश सन्तोषजनक हुँदै गएको छ । सेवाग्राहीलाई एक मिनेट पनि दुःख दिनु हुन्न भनेर सेवा दिन जनप्रतिनिधि र कर्मचारीको टिम लागेको छ । “पारदर्शिमा सबै भन्दा वित्तिय अनुशासन हुनु पर्ने रहेछ, त्यहि कुरालाई ध्यान दिएर काम भइरहेको छ । तुलानात्मक हिजो भन्दा आज राम्रो भइरहेको छ, र भोली अझै राम्रो हुनु पर्छ भन्ने मान्यताको साथ हामी लागेका छौँ । हामीले के गरिरहेका छौँ भनेर सार्वजनिक सुनुवाइहरु गरिरहेका छौँ । यत्ति भन्छु, आज भन्दा भोली अझै राम्रो हुने छ । हामी कति सुशासन र पारदर्शि छौँ भनेर तथ्यांकलेसमेत देखाइसकेको छ ।”
मेयर विमला राई भन्नुहुन्छ…
२०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेकी राई हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभयो । २०७९ मा भएको स्थानीय तहको दोस्रो निर्वाचनमा कांग्रेसले विश्वास गरेर उहाँलाई मेयर पदको टिकट दियो । नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै विमला राई मेयर पदमा निर्वाचित हुनुभएको हो ।
महिला भएकै कारण पार्टीको टिकट पाउन र चुनावमा निर्वाचित हुन गरेको सङघर्ष र मिहिनेतले सधै आफुलाई भावुक बनाउने मेयर विमला राईको भनाइ छ । ‘प्रमुख र उपप्रमुखमा एक जना अनिर्वाय महिला हुनै पर्ने संवैधानिक व्यवस्था अनुसार राजनीतिक दलहरुले उपप्रमुखमा महिला उठाउने गर्छन । अझ अहिले गठबन्धनले त्यो पनि महिलाको अधिकार खोसेको छ । पालिकाको प्रमुखमा हामी महिलाले टिकट पाउनै मुस्किल छ, चुनाव जित्नुत परको कुरा । तर पार्टीले विश्वास गरेर टिकट दिने हो भने चुनाव पनि महिलाले जित्छन् र राम्रो काम पनि गर्छन भनेर पछिल्लो समय हामीले प्रमाणित गर्दै लगेका छौँ ।’ मेयर राईले भन्नुभयो्, ‘पार्टीबाट मेयर पदको टिकट ल्याउन कति सङ्घर्ष गरियो त्यो मलाई मात्र थाहा छ, चुनावी मैदानमा जादै गर्दा मलाई भोट हाल्छु भन्ने महिलाहरु श्रीमानको घरेलु हिंसामासमेत परेका थिए । श्रीमानको कुटाइ सहदै मलाई अत्याधिक महिलाहरुले साथ दिएका थिए । यो कुरा सम्झिदा मेरा आँखा रसाउछन् । तथापि अब मैले काम गरेर देखाउनु पर्छ भन्ने लाग्यो, र नितरन्तर लडिरहेको छु, डटिरहेको छु । फलस्वरुप सफल पनि हुँदै गएको छु भन्ने लाग्छ मलाई । हलेसी तुवाचुङ नगरपालिकाका हरेक जनप्रतिनिधि, कर्मचारी र सम्पुर्ण नागरिकको साथले हामी सफल हुँदै गएका हौँ ।’
देशभर ४ सय ६० वटा गाउँपालिका, ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका गरी कुल ७ सय ५३ वटा पालिका छन् । यीमध्ये अध्यक्ष र नगरप्रमुख गरी प्रमुख पदमा २५ जनाको काँधमा मात्र महिलाको नेतृत्व छ । यो कुल संख्याको ३ दशमलव ३२ प्रतिशत मात्र हो । नेपालको संविधान २०७२ ले कम्तीमा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरे पनि त्यसलाई राजनीतिक दलहरूले बेवास्ता गरेको प्रष्ट देखिन्छ ।