Sunday, October 5News That Matters

खोटाङमा व्यवसायिक राँगा पालन 

खोटाङ भदौ १६ । बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामुहिकरुपमा व्यवसायिक राँगा पालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समुहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् । उनीहरुलाई घाँसको कुनै चिन्ता छैन् । दिनभरी जङ्गलमा चरेर राँगाभैँसी अघाउछन् । कृषकहरु भने हिउँदको लागि घाँस जोहो गरिरहेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा कृषकहरुले व्यवसायिकरुपमा राँगा पालन सुरु गरेका हुन् । किसानलाई स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बन्ने नगरपालिकाको नीति अनुसार कृषकहरुले व्यवसायिकरुपमा राँगा पाल्न थालेका हुन् । दुधको लागि भैँसी पाल्दै आएपनि मासुका लागि व्यवसायिकरुपमा खोटाङमा हालसम्म राँगा पालिएको थिएन । यतिबेला भने कृषकहरुले केही ठाउँमा सामुहिक र केही ठाउँमा ब्यक्तिगत राँगा पालन सुरु गरेका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा करिब ६२ लाख बराबरको ४ सय राँगा खरिद गरेर नगरपालिकाले कृषकलाई वितरण गरेको थियो । नगरपालिकाले प्रदान गरेको उक्त राँगा खाल्लेको चारसले दाप्सा कृषक समुहले सामुहिकरुपमा राँगा पालन गरिरहेका छन् । तराइबाट ल्याएका केही राँगा मरेपछि अहिले स्थानीय गाउँघरबाट खरिद गरेर २४ वटा बनाइएको समुहका अध्यक्ष रामकुमार राईको भनाइ छ ।

खाल्लेसँगै लफ्याङ, विजयखर्क लगायतका केही ठाउँमा नगरपालिकाले वितरण गरेको राँगा सामुहिकरुपमा कृषकहरुले पालिरहेका छन् । धेरै ठाउँमा भने ब्यक्तिगत तर व्यवसायिकरुपमै कृषकहरुले राँगा पालिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राईले बताउनुभयो । “हाम्रो नगरपालिका क्षेत्रमा अत्याधिक जङ्गल छ, जहाँ घाँस यतिकै खेर गइरहेको छ । तसर्थ नगरपालिकाले पशु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ ।” उपमेयर राईले भन्नुभयो, “अघिल्लो वर्ष ४ सय राँगा वितरण गरेका छौँ । अहिले किसानले मझले पालिरहनुभएको छ । ३० हजारको राँगा ६० हजारसम्मको बनाइसक्नुभएको छ । पशु प्रवद्र्धन कार्यक्रमलाई अझै प्रभावकारी बनाउदै लानेछौँ ।”

अघिल्लो आर्थिक वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई ६२ लाख बराबरको उन्नत जातका राँगा वितरण गरेको थियो । नगरपालिकाको पशुपालन प्रवद्र्धन घोषित कार्यक्रम अन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गरिएको थियो ।

तराइबाट ल्याइएका केही राँगा मरेपछि चारसले दाप्सा कृषक समुहका कृषकहरु चिन्तित भएका थिए । तर, पुनः गाउँघरबाटै खरिद गरेर राँगाभैँसी पालनलाई निरन्तरता दिएको समुहका अध्यक्ष रामकुमारको भनाइ छ । तीन महिना अघिमात्र ३० हजारमा खरिद गरेका राँगाहरु अहिले ४५ हजारसम्मको भइसकेको उहाँले बताउनुभयो । राँगाभैँसी बर्खाको समयमा जङ्गलमा चरेर अघाउने प्रसस्त घाँस भएको चरन क्षेत्र छ । हिउँदको समयमा भने सुख्खा हुने भएकाले घाँसको समस्या हुने रामकुमारले बताउनुभयो । हिउँदको लागि अहिले खर घाँसहरु जोहो गर्न थालिएको उहाँको भनाइ छ । आगामी दिनमा अन्य जङ्गल क्षेउमा पनि गोठहरु निर्माण गरेर राँगाभैँसीहरु थप्ने योजना रहेको उहाँले सुनाउनुभयो ।