
खोटाङ, भदौ ७ । रावा बेसी गाउँपालिकाका बृद्धबृद्धालाई पेटी र दोसल्लाले सम्मान गरिएको छ । पालिकाका ६ वटै वडाका ८० वर्ष माथीका बृद्धबृद्धालाई कम्मरमा पेटी लगाइदिएर र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट खरिद गरिएको पेटी र दोसल्लाले अहिले सम्मान कार्यक्रम धमाधम भइरहेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर ४ डुम्रेधारापानीमा केही दिन अगाडि सम्मान गरेर सकिएको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले जानकारी दिनुभयो । वडा नम्बर ६ हौँचुरमा पनि सम्मान कार्यक्रम भइरहेको वडाध्यक्ष चिरञ्जीवि कार्कीले बताउनुभयो । वडा नम्बर १ कुभिण्डेमा सोमबार (आज) बृद्धबृद्धाको घर घरमै पुगेर सम्मान गरिएको वडा सदस्य विशाल राईले बताउनुभयो । यस्तै, वडा नम्बर २ खार्पा र ३ लामिडाँडामा पनि सम्मान कार्यक्रम धमाधम भइरहेको सम्बन्धित वडाध्यक्षहरुको भनाइ छ ।
पालिकाका भरीमा ८० वर्ष पुरा भएका २ सय ८२ जना बृद्धबृद्धा रहेका छन् । जसमा वडा नम्बर एकमा ३७, दुईमा ३९, तीनमा ४३, चारमा ७३, पाँचमा ४७ र छमा ४३ जना रहेका गाउँपालिकाले जनाएको छ ।

