
खोटाङ, भदौ ७ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ ।
खोटाङ जिल्लाकालागि केन्द्रिय सदस्य तारामान गुरुङलाई खटाइएको छ । केन्द्रिय सदस्य गुरुङ जिल्ला आएपछि १० गते पार्टी कार्यालयमा बैठक बसेर अभियान सुरु गर्ने जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्ने छ । जसअनुसार ११ गतेबाट जिल्ला घुम्ने कार्यक्रम सुरु हुने सभापति राईको भनाइ छ ।
‘केन्द्रिय सदस्य तारामान ज्यु आएपश्चात हामी एक खालको बैठक बस्छौँ । त्यसपछि जिल्लाका सबै पालिकाका हरेक वडामा, हरेक जनताका घरमा पुग्छौँ । नेपाली कांग्रेसलाई कसरी बुझेका छन् जनताले त्यसबारे हामी बुझ्नेछौँ । पार्टीलाई जनताको सुझाव के छ ? जनताले कांग्रेससँग के अपेक्षा राखेका छन् ? त्यो हामी लिनेछौँ ।’ सभापति राईले भन्नुभयो ।
