
खोटाङ, भदौ ७ । खोटाङमा व्यवसायीकरुपमा खुकुरी लगायत घरेलु फलामे औजार उत्पादन गर्न थालिएको छ । बराहपोखरी गाउँपालिका–४ धर्तुङ छुलुवारका सेवन राईले फलामे घरयासी सामाग्री उत्पादन गर्ने कारखाना दर्ता गराएर खुकुरी साथै अन्य घरेलु औजारहरु निर्माण गरिरहनु भएको हो ।
उहाँकी श्रीमती बिमला राईको नामबाट ९ महिना अगाडि घरेलु तथा साना उद्योयक कार्यालय दिक्तेलमा कारखाना दर्ता गराएको उहाँको भनाइ छ । कारखाना दर्ता गराएको करीब ३ महिना पछिबाट रामकुमारी छुलाछा खुकुरी उद्योग कारखाना खोलेर फलामे औजारहरु उत्पादन गरिरहेको उहाँले बताउनुभयो । कारखानामा फलामे सामाग्री उत्पादन तथा निर्माणकालागि खुकुरीको नेपालकै चर्चित जिल्ला भोजपुरबाट दुई जना कालिगड ल्याइएको सञ्चालक राईले बताउनुभयो ।
‘विज्ञ दुई जना कालिगड राखेका छौँ, औजार निर्माणकालागि समस्या छैन् । धरानबाट फलाम ल्याएर यहाँ अहिले खुकुरी, खुर्पा, कुटो, कोदालो सबै निर्माण भइरहेको छ । विशेष गरी विभिन्न डिजाइनका खुकुरी धमाधम निर्माण भइरहेका छन् । बजारीकरणमा समस्या छ, “रामकुमारी छुलाछा खुकुरी उद्योग” नामक फेसबुक पेज खोलेका छौँ, त्यहाँ सामाग्रीका फोटोहरु लगाउछौँ र मन परेर माग गरेमा घरसम्म पु¥याउने काम गरिरहेका छौँ ।’ राईले भन्नुभयो । धर्तुङमा निर्माण गरिएका खुकुरी लगायतका फलामे औजारहरु अहिले खोटाङ र उदयपुर जिल्लाका विभिन्न ठाउँमा पुगेका छन् । केही खुकुरीहरु धरान र काठमाण्डौमासमेत लगिएको सञ्चालक राईले बताउनुभयो ।
करीब १० लाख लगानीबाट सुरु भएको घरयासी फलामे सामाग्री कारखानाले ५ महिनामा आधा लगानि उठाउन सफल भएको छ । तर सोँचे जस्तो बजारीकरण भने नभएको उहाँको भनाइ छ । सुरुमा कारखाना दर्ता गर्दा यस प्रकारको कारखाना खोटाङमा पहिलोपटक दर्ता भएको भन्दै घरेलु कार्यालयले अनुदान दिने भनेको थियो, तर अहिलेसम्म कुनै पनि सरकारी निकायबाट अनुदान प्राप्त नभएको राईको गुनासो छ । तथापी उक्त कारखानालाई व्यापक विस्तार र बजारीकरण गर्दै लैजाने राईले बताउनुभयो ।


