Wednesday, April 15News That Matters

भुक्ते–आयुर्वेद सडकखण्डमा रड बिच्छ्यार छाडिदा स्थानीयलाई सास्ती, तत्काल काम गर्न निर्देशन


खोटाङ, भदौ ८ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भुक्ते–आयुर्वेद सडकखण्ड ढलानको काम बिचमै छाडिएको छ । सडक ढलान गर्दागर्दै रड बिछ्याएर छाडिएपछि हिडडुल गर्नसमेत समस्या भएको स्थानीयले बताएका छन् ।

सडकको केही ठाउँमा ढलान गरिएको छ भने केही ठाउँमा रड मात्र बिच्छ्याइएको छ । सडकमा रड बिच्छ्याएर छाडिएपछि मान्छे हिड्न देखि पशुचौपाय हिडाउन समेत समस्या भएको स्थानीय टंक प्रसाद आचार्यले बताउनुभयो । ‘स्थानीयहरुले लेकबेँसी गर्ने बाटो यहि हो, यहाँका मानिसहरु पानीपधेँरो जाने बाटो यहि हो, सबैले गाईबस्तु यही बाटो हिडाउँनु पर्छ, तर बाटोभरी रड बिच्छ्याएर छाडिएको छ । रडमा अल्झिएर खुट्टा भाँचिन्छ भन्ने ठुलो डर छ ।’ स्थानीय राधिका आचार्यले भन्नुभयो । दुई महिना देखि सडक अलपत्र बनाएर ठेकेदार बेपत्ता भएको अर्का स्थानीय भवानी प्रसाद आचार्यलेको भनाइ छ ।

उक्त सडकमा बिच्छ्याइएको रडले हिडडुल गर्न समस्या भएको भन्दै स्थानीयले बताएपछि बुधकार (आज) नगर प्रमुख तिर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईको समुहले अनुगमन गरेको छ । अनुगमनकै क्रममा निर्माण कम्पनी जेपी लगलगे जेबीका प्रमुखलाई प्रजिअ सेडाईले फोन मार्फत तुरुन्त काम समपन्न गर्न निर्दशन दिनुभएको छ । यस्तै नगर प्रमुख भट्टराईले चाडै काम सम्पन्न गरेर सहजता नबनाए कानुनी प्रक्रियाबाट अगाडि बढ्ने बताउनुभयो ।

उक्त सडक ८० घनमिटर आरसीसी ढलान, ९१ घनमिटर सोलिङ र ८४ घनमिटर मेसेनरी वाल निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाले ४२ लाख ३२ हजार २ सय ३१ रुपैयाँको इस्टमेट निकालेको थियो, तर निर्माण कम्पनी जेपी लगलगे जेबीले २३ लाख ६८ हजारमा ठेक्का पारेको थियो । इस्टमेट भन्दा झण्डै आधा रकममा २०७९ बैशाख १९ मा काम सक्नेगरी २०७८ माग २० गते ठेक्का सम्झौता भएको सघन सहरीका इन्जिनर सञ्जय कुमार चौधरीले बताउनुभयो । म्याद सकिएको ४ महिना भइसक्दा पनि ७० प्रतिशत मात्र काम भएको उहाँको भनाइ छ ।

यस्तै सोही निर्माण कम्पनीले नगर भित्रकै अन्य २ वटा योजना पनि अलपत्र पारेर छाडेको छ । हाडडाँडा काफ्ले गाउँ–धुम्ती बरडाँडा सडकको ढलान, सोलिङ र मेसनरी वाल निर्माणको कामको सक्ने म्याद नागेको पनि ३ महिना भइसक्दा ४५ प्रतिशत मात्र काम भएको इन्जिनर चौधरीले बताउनुभयो । ६६ लाख २२ हजार ६० रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त योजनाको गत जेठमै म्याद सकिएको हो ।
यस्तै, दोर्पा–दुम्ली सडकको काम पनि सोही निर्माण कम्पनीले जिम्मा लिएर काम सम्पन्न नगरी छाडेको छ । ४२ लाख ३६ हजार ४ सय ७३ रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त योजनाको म्याद पनि गत बैशाखमा सकिएको छ । तर निर्माण कम्पनीले बिचैमा सडक अलपत्र पारेर छाडेको छ । काम सम्पन्न गर्न सम्झौता मिति सकिदा पनि नेपाल सरकारको सार्वजनिक खरिद १२ औँ सम्सोधन नियमावली २०७९ अनुसार नेपालका सबै योजनाको सम्झौता मिति एक वर्षलाई थपिदा निर्माण कम्पनीलाई सहज भएको छ ।