Saturday, July 27News That Matters

एक पटक जानै पर्ने ठाउँ, प्राकृतिक सौन्दर्यले भरीपूर्ण साल्पा पोखरी

साल्पा पोखरी, तस्विर : मनोज आचार्य

खोटाङ, भदौ ९ । धार्मिक आस्थाको प्रतिक अनि प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल, जसको बारेमा सुनेपछि एक पटक जान मन लाग्ने स्थल हो साल्पा पोखरी । जुन खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा गरी चार जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल हो ।

चार जिल्लाको संगमस्थल भएपनि भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका साविकको दोभाने गाउँ विकास समितिमा साल्पा पोखरी पर्दछ । समुद्र सतहदेखि ३ हजार ४ सय ४३ मिटर उचाइमा रहेको साल्पा पोखरीमा चार जिल्लाबाटै जाने बाटाहरु रहेका छन् । खोटाङको सदरमुकाम दिक्तेलदेखि तालखर्क, मैयुङ डाँडा हुँदै मुन्दुम पदमार्गको बाटोबाट जान सकिन्छ भने सुङदेल हुँदै अर्को बाटोबाट पनि जान सकिन्छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर पनि जान सकिन्छ । भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गर्दै साल्पा पोखरी पुग्न सकिन्छ । यस्तै सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट महाँकुलुङ गाउँपालिका हुँदै पनि साल्पा पोखरी पुग्न सकिन्छ ।

साल्पा पोखरी जाने बाटोमा खोटाङ र भोजपुरको सिमाना मयुङस्थित मातिमडाँडामा चरिरहेका करीब १५ सय भेडाहरु

पहिलोपटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पा पोखरी कै मार्ग प्रयोग गरेको भनाइ छ । साल्पा पोखरी नजिकै करीब ४१ सय मिटर अग्लो शिलिचुङ डाँडा छ । पोखरीमा पुगेका पर्यटकहरु उक्त चुचुरोमा पुगेर मनोरम दृश्य अवलोकन गरेर मात्र फर्किने गरेका छन् । शिलिचुङबाट सगरमाथा, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिक लगायत हिमशृंखला र तराईको फाँटमा लमतन्न परेका नदी, वनजंगल र बस्ती मज्जाले देख्न सकिन्छ ।

चारैतिर पहाडले घेरीएको उक्त पोखरीलाई किराँतीहरुले साली–पा (सवैभन्दा उच्च स्थानमा रहेको पुख्र्यौली भगवान) भनी सम्वोधन गरेको पाईन्छ । विभिन्न जातजाती हरुका धार्मिक आस्थाको केन्द्र साल्पा पोखरीमा वर्षको चारपटक चण्डी पुर्णिमा, मङसीर पुर्णिमा, क्रृषी पुर्णिमा र कार्तिक पुर्णिमामा मेला लाग्ने गर्दछ ।

सिलिचुङडाँडा

वाक्य नफुटेकाहरुलाई सालपा पोखरीमा लगेर चुबोल्दा आछुछु भन्दै वाक्य फुट्ने विश्वास रही आएको छ । बच्चा नहुनेहरुले पनि साल्पा पोखरीमा गएर मागेपछि बच्चा हुने धार्मिक विश्वास छ । धार्मिकसँगसँगै प्राकृतिक रुपमा पनि सौन्दर्यले भरपिूर्ण भएका कारण साल्पा पोखरीमा पर्यटकहरुको मन लोभिने गरेको छ । पछिल्लो समय पोखरी घुम्न जानेहरुको संख्यामा पनि बृद्धिहुँदै गएको पोखरी वरीपरि भेडि गोठ राखेर बसेकाहरु बताउछन् । साल्पा पोखरीमा कुनै होटल पसलहरुको भने व्यवस्था छैन् तर, त्यहाँ भेडि गोठ राखेर बसेकाहरुले खान र बस्नको सामान्य व्यवस्था गर्दिने गरेका छन् । साल्पा पोखरीको प्रवद्र्धनकालागि मुन्दुम पदमार्ग निर्माण बाहेका अन्य कामहरु अहिलेसम्म भएका पाइदैनन् । नेपालको घुम्नै पर्ने १०० ठाउँ मध्येमा साल्पा पोखरी पनि राखिएको छ । सरकारले यस पोखरीको अझै प्रवद्र्धन गरेर बिशेषगरी बाह् पर्यटक भित्र्याउन सके नेपालको आर्थिक आम्दानिको गतिलो स्रोत साल्पा पोखरी बन्न सक्छ ।

साल्पा पोखरीको भ्रमण भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *