
राजकुमार सरगम
खोटाङ, भदौ ९ । खोटाङ सदरमुकाम दिक्तेलस्थित लालुपाते बहुद्देश्यीय सहकारी संस्था डेढ वर्षदेखि बन्द रहेको छ । सहकारी सञ्चालक समितिका अध्यक्ष अनिल कुमार जोसीको निधन पश्चात २०७८ बैशाखबाट सहकारी बन्द भएको हो । वि.स. २०७२ मङ्सिरमा दर्ता भएर सञ्चालनमा आएको सहकारी बन्द भएपछि बचतकर्ताहरु मारमा परेका छन् । ब्याजको आशमा लाखौँ रकम सहकारीमा जम्मा गरेका बचतकर्ताहरु हरेक दिन सहकारीको कार्यालयमा आउने गरेका छन्, तर सहकारीको कार्यालय प्रायः बन्द हुने गरेको उनिहरुको भनाइ छ ।
लालुपातेले आर्थिक वर्ष २०७६/ ०७७ को लेखापरीक्षण सहितको प्रतिवेदन प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा नबुझाएको भन्दै प्रदेश सहकारीले गत वर्ष असोज ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । त्यसपछि सञ्चालक समितिलाई बोलाएर छलफल पश्चात १ नम्बर प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले संस्थाका सञ्चालकको सम्पत्ति रोक्का राख्ने निर्णय गरेको जनाएको थियो । सदस्यहरुले निक्षेप फिर्ता नपाएको गुनासो गरेपछि प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले सञ्चालकको सम्पत्ति रोक्का गरिएको भनाइ थियो । संस्थाको रकम हिनामिनासँग सम्बन्धित व्यक्तिहरुको अचल सम्पत्ति रोक्का गर्ने, हालसम्मको सम्पत्ति र दायित्वको लेखापरीक्षण गराउने, साधारणसभा बोलाइ ऋण लगानी सहित पाउनुपर्ने रकम असुलीको कार्य सुरु गरिएको प्रदेश कार्यालयले आज भन्दा करीब एक वर्ष अघि बताएपनि अहिलेसम्म एक जनापनि बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएको बताएका छन् ।
गत वर्षको बैशाखमा सहकारीका अध्यक्ष जोसीको कोभिड–१९ का कारण पोखरामा मृत्यु भएको परिवारको भनाइ छ । तर जोसीको स्थायी घर भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल वडा कार्यालयमा अहिलेसम्म मृत्यु दर्ता गराइएको छैन् । जसकारण जोसीको मृत्यु भएको हो हैन भन्ने विषयनै शंकास्पद रहेको स्थानीयबासीको भनाइ छ । ७८ बैशाखबाट बन्द भएको सहकारी पुनः ७९ जेठ ९ गते सञ्चालनमा ल्याउने भन्दै कार्यालय खोलेर दुई दिन बचत उठाउदै हिडेको पाइएको छ । तर दुई दिन पश्चात पुनः कार्यालय बन्द भएको छ । अहिले सातामा एक दिन जस्तो कार्यालयको कर्मचारी सुमना राई आएर १÷२ घण्टा खोल्ने गरेको स्थानीयको भनाइ छ । अन्य समय कर्मचारी राईको मोबाइल अफ हुनेगरेको छ । रकम माग गर्दा केही समय पर्खनुस सहकारी सञ्चालनमा आउछ भन्दै बहाना बनाएर उम्किने गरेको बचतकर्ताहरुको भनाइ छ । १० जना बचतकर्ता भेला भएर जिल्ला प्रशासन कार्यालयमा पनि गएर ध्यानाकर्षण गराएको तर समस्याको समाधान नभएको बचतकर्ता कल्पना बस्नेतले बताउनुभयो ।
सहकारीले आइ.एम.इ पनि सञ्चालन गरेको थियो । कल्पना बस्नेतको श्रीमानले आज भन्दा करीब २ वर्ष अगाडि बिदेशबाट पठाएको चार लाख रुपैयाँ झिक्न उक्त सहकारीको आइएमइमा जादा यहि सहकारीमा पैसा जम्मा गर्नुस राम्रो ब्याज दिन्छौँ भनेपछि रकम जम्मा गरेको बताउनुभयो । तर ६ महिनापछि रकम आवश्यक परेर झिक्न खोज्दा सहकारीले नदिएको उहाँको भनाइ छ । ‘श्रीमानले बिदेशबाट पठाएको पैसा झिक्न जादा १५ प्रतिशत ब्याज दिने भन्दै सहकारीमै पैसा जम्मा गराएँ । पछि आफुलाई चाहिएर झिक्न खोजेको अहिले डेड वर्ष भयो पैसा दिनैनन्, प्रशासनमा पनि गएर हामीले दुखेसा पोख्यौँ तर कहीबाट असहलेसम्म केही भएको छैन् ।’बस्नेतले भन्नुयो ।
उहाँको जस्तै उक्त सहकारीमा धेरै मानिसहरुको पैसा डुबेको गुनासो छ । जालपाकी सबिना राईको ७ लाख बचत भएको तर अहिले सहकारी नै बन्द हुँदा केही सोँच्न नसक्ने अवस्थामा पुगेको बताउनुहुन्छ । टेम्माका लक्ष्मी राईले दुःख गरेर कृषी पेसाबाट कमाएको २ लाख जम्मा गरेको ७ वर्ष भयो, तर अहिलेसम्म एक रुपैयाँ पनि नपाएको बताउनुहुन्छ । दिक्तेलकी पदम कुमारी सैजुले राम्रो ब्याज दिने भनेपछि फाइदा हुने आसले २ वर्ष अगाडि ११ लाख जम्मा गरेको बताउनुहुन्छ । तर अहिले सहकारी नै बन्द भएपछि पैसा माग्न कहाँ जाने अन्योलमा परेको बताउनुहुन्छ । खाल्लेकी धनकुमारी कट्वालले ७ लाख ११ हजार सहकारीमा जम्मा गरेको बताउनुहुन्छ । अहिले रकम लिन जादा उल्टै कर्मचारीले थर्काउने गरेको उहाँको गुनासो छ ।
यस विषमा प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईले आफुमाझ पनि बचतकर्ताहरुको गुनासो आएको बताउनुभएको छ । मौखिक गुनासो आएपश्चात सहकारीका सञ्चालकहरुलाई सम्पर्क गर्दा चाडै रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ । बिशेष गरी सहकारीको अनुगमन गर्ने काम स्थानीय सरकारको भएपनि प्रशासनले सकेसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहकार्य गर्ने उहाँले बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि यस विषयमा आफ्नो कदम अगाडि बढाउने जनाएको छ ।
यता सहकारीका सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाइले आफुलाई सहकारीको कुनै हिसाब थाहा नभएको बताउनुभयो । ‘मलाई उपाध्यक्ष राखिएको रछ पछि मात्र थहाँ पाएँ, सहकारीको हिसाब किताब केही थाहाँ छैन । मैले कहीले कतै केहीमा हस्ताक्षर पनि गरेको छैन । सहकारीको विषयमा म केही जान्दीन ।’ उपाध्यक्ष चौलागाइको प्रतिक्रया यस्तो आएपछि सञ्चालक समितिका सचिव मनोज राईलाई सम्पर्क गर्दा आफुलाई पनि सबै हिसाब थाहाँ नभएको जवाफ दिनुभएको छ । ‘सहकारीले कहाँ के कति कारोबार गर्यो त्यो फाइल नै छैन्, सहकारीको लगानि धेरै छ, त्यो रकम उठेमा सबैको पैसा दिनपुग्छ तर कसैले पैसा दिन मान्दैनन्, त्यसैले अब हामी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयलाई सबै जिम्मा दिन्छौँ । सोही कार्यालयले कानुन अनुसार जग्गा लिलाम गर्दै सबैको रकम फिर्ता दिने काम गर्नेछ ।’ सचिव राईले भन्नुभयो ।
यसैबिच, प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले बचतकर्ताहरुको उजुरी माग गरेको छ । बचतकर्ताहरुले लिखित उजुरी दिएपश्चात आफुहरु कानुनी प्रक्रियामा अघि बढ्ने उक्त कार्यालयमा कार्यरत सहकारी अधिकृत मनोज कार्कीले बताउनुभयो ।
