Wednesday, April 15News That Matters

‘जनताको साथमा कांग्रेस’ अभियानको खोटाङमा उद्घाटन


खोटाङ, भदौ १० । नेपाली कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रम खोटाङमा आजबाट औपचारिकरुपमा सुरु भएको छ । कांग्रेसको जिल्ला कार्य समिति खोटाङले पार्टी कार्यालयमा बैठक राखेर कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार ‘जनताको साथमा कांग्रेस’ कार्यक्रम लिएर केन्द्रिय प्रतिनिधिहरु प्रत्येक जिल्लामा पुगेका छन् । खोटाङमा केन्द्रबाट प्रतिनिधिकोरुपमा केन्द्रिय सदस्य एवं पुर्व राज्य मन्त्री तारामान गुरुङ आउनुभएको छ । प्रदेशबाट प्रदेश सभा ‘क’ मा कमला गुरुङ र प्रदेश सभा ‘ख’ मा सबिता राई आउनुभएको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको जिल्ला प्रतिनिधि एवं केन्द्रिय सदस्य गुरुङले बताउनुभयो । स्थानीय तह निर्वाचनमा कांग्रेस देशमा पहिलो पार्टी बने जस्तै मंसिर ४ गते देशैभर एकैसाथ हुने प्रदेश र संघको निर्वाचनमा पनि कांग्रेसलाई पहिलो पार्टी बनाउन यो अभियान थालिएको उहाँको भनाइ छ । ‘आज हामी जिल्लामा आयौँ अब प्रदेश सभा क्षेत्रमा जान्छौँ, त्यसपछि पालिका, वडा हुँदै जनताका घरसम्म पुग्नेछौँ । जनताका समस्या सुन्नेछौँ, जनताका सबै कुरा सुन्नेछौँ । पार्टीको बारेमा वडा तहबाट पालिक हुँदै जिल्ला आएको रिर्पोट केन्द्रमा लिएर जानेछौँ ।’ गुरुङले भन्नुभयो ।

‘जनताको साथमा कांग्रेस’ अभियान भदौ १० अर्थात आजदेखि भदौ २४ गतेसम्म सञ्चालन हुनेछ । भदौ १० गते पर्ने मंगलादेवि सिंहको स्मृति दिवसबाट सुरु गरेर भदौ २४ गते पर्ने वि.पि. कोइरालाको जन्म जयन्तीको अवसरमा सक्ने गरी यो कार्यक्रमको आयोजना गरिएको कांग्रेसले जनाएको छ । यस कार्यक्रम समापन पश्चात चुनाव लक्षित क्रमैसँग अन्य कार्यक्रमहरुपनि हुँदै जाने बताइएको छ ।

कांग्रेसका जिल्ला साभापति विष्णुकमार राईको सभापतित्वमा पार्टी कार्यालयमा आज भएको ‘जनताको साथमा कांग्रेस’ उद्घाटन कार्यक्रममा केन्द्र र प्रदेशबाट खटिएर आउनुभएका प्रतिनिधिसँगै केन्द्रिय सदस्य सरस्वती बजिमय, प्रदेश १ महामन्त्री भुपेन्द्र राई, पुर्व राज्यमन्त्री सर्वधन राई, पुर्व जिल्ला सभापति नरेश कुमार श्रेष्ठ, संविधान सभा सदस्य हिरा गुरुङ, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, पालिका कार्यसमिति र कांग्रेसबाट निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।