
खोटाङ, भदौ १३ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि खोटाङबाट १ सय ५८ जना खेलाडी छनोट भएका छन् । भदौ ५ देखि १० गतेसम्म दिक्तेलमा भएको छनोट प्रतियोगिताबाट १४ खेलकालागि १ सय ५८ जना खेलाडी छनोट भएका हुन् । व्यवस्थापन तथा अफिसियलमा ३० जना गरेर जिल्लाबाट प्रदेश छनोट प्रतियोगितामा १ सय ८८ जना जानेछन् ।
आठौँ राष्ट्रिय प्रतियोगीतामा १० खेलमा खोटाङबाट खेलाडी लगिएको थियो । यो वर्ष नवौँ प्रतियोगितामा ४ खेल थपिएको खेलाडी छनोट समितिका संयोजक सुमन राईले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीहरु अब प्रदेश स्तरीय खेलाडी छनोटमा भाग लिने छन् । प्रदेश छनोट प्रचियोगिता कुन–कुन जिल्लामा हुने भन्ने टुंगो लागिसकेको छैन् । यद्यपी कराते र बुद्धिचाल प्रतियोगिता खोटाङमा हुन सक्ने राईको भनाइ छ ।
भलिबलमा १८, एथ्लेटिक्समा २२, बुद्धिचालमा ४, तेक्वान्दोमा २२, टेबलटेनिसमा ४, फुटबलमा ३२, व्याडमिन्टनमा ७, भारोत्तलनमा २, उसुमा १० जना खेलाडि छनोट भएका छन् । यस्तै, बक्सिङमा ३, पौडीमा २, शारीरिक सुगठनमा १ र सफ्ट टेनिसमा २ खेलाडीले प्रदेश स्तरीय खेलमा सहभागी जनाउन जिल्लाबाट छनोट भएका संयोजक राईले बताउनभयो । यो वर्ष जिल्लाबाट नयाँ खेलसँगै पहिले सहभागि गराइएको खेलमा पनि खेलाडीको संख्या बढाइएको छ । अघिल्लो वर्ष एथ्लेटिक्समा ८ जनाको सहभागिता थियो भने यो वर्ष २२ जनाको सहभागिता रहनेछ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने छ । खेलाडी छनोटका लागि प्रदेशले दिएको रकम कम हुँदा खेलाडी छनोट र व्यवस्थापनमा चुनौति रहेको संयोजक राईको भनाइ छ । ‘प्रदेशले थोरै रकम दिएको छ । सोही रकमले जिल्लामा खेलाडी छनोट गर्यौँ, अब खेलाडीहरुलाई केही दिन एक ठाउँमा राखेर तालिम दिनुपर्ने हुन्छ । त्यसपछि प्रदेश छनोट प्रतियोगितामा पनि जाँदा प्रदेशले दिएको रकमले पुग्दैन । सरकारले खेलकुद क्षेत्रकालाई प्राथमिकतामा नराख्दा खेलाडीदेखि व्यवस्थापकसम्मलाई ठुलो चुनौती छ ।स्थानीय सरकारले पनि खेलकुद क्षेत्रलाई सहयोग गर्न आवश्यक छ ।’ संयोजक राईले भन्नुभयो ।
छनोट भएका खेलाडीको सूची हेर्नुहोस




