
खोटाङ, भदौ २६ । जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजार कुरुप बन्दै गएको छ । जथाभावी बिछ्याइएको तारले बजार क्षेत्र कुरुप देखिन थालेको हो ।
बजारको बिचमा विद्युतका पोलहरु गाडिएका छन् । सोही पोलबाट विद्युतको तार, नेपाल टेलिकमका तार र विभिन्न नेटका तारहरु छरपस्ट तरिकाले टागिएका छन् । जसले गर्दा दिक्तेल बजारको रुप हराउदै गएको छ । बजार क्षेत्र रत्नपार्क (किराँत चोक) देखि हाडडाँडा सम्म नै जथाभावी तारहरु टागिएका छन् । कतिपय ठाउँमा तारले तल सडकसम्म छुन लागेकाले सवारी साधन आवतजावतदेखि सडकमा काम गर्नसमेत समस्या भएको स्थानीय विशाल राउत बताउनुहुन्छ । ‘यता हेर्यो तार, उता हेर्यो तार, यसले दिक्तेल बजारको सुन्दरतामा ह्रास आएको छ । यसको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस् ।’ अर्का स्थानीय गुनराज सैजुले भन्नुभयो ।
छरपस्ट तारको बोझले कतिपय विद्युतका पोलहरु बांगिएका छन् भने कतिपय पोलहरु भाँचिन समेत लागेका छन् । तारको व्यवस्थापन नहुँदा बजारको सुन्दरता हराउनुका साथै जोखिम पनि उत्तिकै बढ्दै गएको स्थानीयबासीहरु बताउछन् । लामो समयदेखि बजारभरी छरपस्ट तार हुँदापनि सम्बन्धित निकाय भने मौन बसेका छन् ।
यता, नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईका अनुसार निर्वाचित भएर आएको १५ दिनमै तार व्यवस्थापनकालागि नेपाल विद्युत प्राधिकरण दिक्तेल र नेपाल टेलिकमको कार्यालय दिक्तेललाई पत्रचार गरिएको हो । तर, अहिलेसम्म उक्त निकायहरु तारको व्यवस्थापनमा नलागेको उहाँको भनाइ छ । विद्युत प्राधिकरण दिक्तेलका प्रमुख विजय रेग्मी भने विद्युतको भन्दा पनि टेलिकम र नेटको लापरबाहीले यो अवस्था आएको बताउनुहुन्छ ।
‘बजार क्षेत्रमा नभएको हैन विद्युतका तारहरु पनि छरपस्ट देखिएका छन्, तर टेलिकम र नेटका तारहरु धेरै र अव्यवस्थित तरिकाले टागिएका कारण ठाउँ ठाउँमा पोलहरु नै भाँचिन लागेका छन् । टेलिकमले पुरानो तार हटाउने र नेटले पनि सिमित तार टाग्ने हो भने समस्याको समाधान हुन्छ ।’ प्रमुख रैग्मीले भन्नुभयो । नेपाल टेलिकमले टागेका पुराना प्रयोग विहिन तारहरु पनि पोलमा रहेका छन् । केही समय पश्चात फाइबर तार एउटा वा दुईटा मात्र टागेर अन्य तार हटाइने टेलिकम कार्यालय दिक्तेलका प्रमुख खगेन्द्र बलम्पाखीले बताउनुभयो ।
मन्दिरमा टागिएको धजाजस्तै सडकदेखि २० मिटर लामो पोलभरी तार, जथाभावी सडकमा सवारी साधन पार्किङले अहिले दिक्तेल बजारको रुप हराएको प्रष्टै देख्न सकिन्छ । बजार बिचको सडक ढलान कार्य सञ्चालन भइरहेकाले बजार कुरुप हुन थप मदत पुगेको छ । नगरपालिकाले केही वर्ष अघि राखेको सडक बत्ति मर्मत सम्भार नगर्दा दिक्तेल बजारका सडक बत्तिसमेत धेरै जसो सञ्चालनमा छैनन् । सञ्चालनमा रहेका बत्ति पनि केही समय बलेपछी आफै बन्द हुने गरेका प्रत्यक्षदर्शीको भनाइ छ । नगरपालिकाले बजार क्षेत्रमा जडान गरेका सिसिक्यामेरा पनि प्रयोग बिहिन छन् ।
हेर्नुहोस् दिक्तेल बजारमा टाँगिएका अव्यवस्थित तार





