
खोटाङ, भदौ ३१ । राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय एक सातादेखि बन्द रहेको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्यले गत शुक्रबारदेखि वडाको सम्पूर्ण सेवा बन्द गर्दै वडा कार्यालयमा ताला लगाएका छन् ।
वडाका जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित हुन् भने गठबन्धनबाट कांग्रेसका तिर्थराज भट्टराई नगर प्रमुख र माओवादीका विसन राई उपप्रमुखमा निर्वाचित हुनुभएको हो । फरक राजनीनितक दल भएकै कारण नगरपालिकाले वडाका सबै कामकाजमा हस्तक्षेप गरेको वडाका जनप्रतिनिधिको आरोप छ । नगरपालिकाले भने वडामा भएका योजनाहरु गुणस्तरहिन भएका कारण भुक्तानी रोकिएको तर कुनै हस्तक्षेप नभएको जनाएको छ । नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक विसन राईले कुनै परिक्षण नगरी योजना गुणस्तरहिन रहेको भन्दै कागजातमा लेखिदिएको वडाध्यक्ष चौहानको भनाइ छ । तर मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि गुणस्तरहिन भएको भन्दै अख्तियरमा उजुरी परेको र छानबिन भइरहेकाले भुक्तानी नदिएको नगरपालिकाले जनाएको छ ।
वडाध्यक्ष चौहानका अनुसार करीब एक महिना अघिदेखि वडामा सचिव नभएको र कार्यालय सहयोगीलाई पनि नगरपालिकाले करार म्याद नथपिदिएकाले वडा कार्यालय कर्मचारी बिहिन बनाएर बन्द जस्तै गराएको थियो । त्यसैले सम्पन्न भएका योजनाको भुक्तानी गरिनु पर्ने, संविधानले वडालाई दिएको अधिकार हस्तक्षेप गर्न नहुने र कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भन्दै वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष चौहानको भनाइ छ । वडा कार्यालय बन्द गरिएको एक सातासम्म पनि नगरपालिकाले कुनै चासो नदेखाएपछि शुक्रबार वडाका जनप्रतिनिधिले नगरपालिकालाई कार्यालयको चाबी बुझाएका छन् । चाबी बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले वडा सचिव अगाडिनै खटाइसकिएको र कार्यालय सहयोगीलाई पनि नहटाएको बताउनुभएको छ । वडा सचिवमा मिनप्रसाद आचार्यलाई नगरपालिकाले खटाएको पनि पाइएको छ । तर वडाकार्यालयलाई सचिव पठाइएको आधिकारीक पत्र भने लेखिएको देखिदैन ।
वडामा सञ्चालन भइरहेका खावाडाँडा र वाबारी एकीकृत वस्ती निर्माण, गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो–तालचौंर सडक, अन्नपूर्ण मावि घेरावारा र पंखु लप्से खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्धा परेको छ । राजनीतिक प्रतिशोधका आधारमा उक्साएर मुद्धा हाल्न लगाइएको वडाध्यक्ष चौहानको आरोप छ ।
एमालेबाट निर्वाचित वडाका जनप्रतिनिधि एकातिर, सत्तारुढ गठबन्धनबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख एकातिर हुँदा वडाका सर्वसाधारण चेपुवामा परेका छन् । वडामा सञ्चालित योजनाहरु गुणस्तर नभएको भन्दै गठबन्धनमा आबद्ध दलले प्रश्न उठाउदै आएका छन् । फरक राजीनितक दल भएकै कारण नगरपालिकाले वडालाई हस्तक्षेप गरेको नेकपा एमालेबाट निर्वाचित वडाका जनप्रतिनिधिको आरोप छ ।
गठबन्धन र एमालेको बिचमा भएको राजनीतिक प्रतिशोधका कारण वडाका नागरिक भने मारमा परेका छन् । वडा कार्यालय खोल्न नगरपालिका र वडा बिच छलफल पनि भएको बुझिएको छ तर सहमती भने हुन नसकेका कारण अझै केही समय नागरिकले वडाबाट प्रदान हुने सेवाबाट बञ्चित हुने निश्चित छ । एक सातासम्म वडा बन्द हुँदा नगरले चासो नदेखाएको भन्दै वडाका जनप्रतिनिधिले नगरलाई चाबी बुझाएका छन् । राजनीतिक प्रतिशोध एकआपसमा छलफल गरेर मिलाउन अनुरोध गर्दै सचिवलाई पठाएर वडा कार्यालय खोल्न लगाउने प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाइ छ ।

