
खोटाङ, भदौ ३० । खोटाङमा डेंगु र स्क्रब टाइफसका बिरामी देखा पर्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालय खोटाङले रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । कार्यालयले रोकथामकालागि बिहिबार (आज) सरोकार निकायसँग अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम गरेको छ ।
जिल्लामा बुधबारसम्म १६ जना डेंगुका र दुई जना स्क्रब टाइफसका बिरामी देखिएका छन् । दैनिक प्रायः डेंगुका बिरामी अस्पताल आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । जिल्लामा अन्य व्यक्तिमा पनि डेंगु र स्क्रब टाइफस हुनसक्ने भएकाले त्यस्ता व्यक्तिको पहिचान गरेर उपचार गर्ने र उक्त रोगबाट कसरी बच्न सकिन्छ भनेर सरोकार निकायसँग अन्तरक्रिया गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिक्देलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबाहदुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) मञ्जिल मुकारुङ, रेडक्रसका मन्त्री छत्र बजिमय, जिल्ला अस्पतालका प्रमुख डक्टर नितु लामा, सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यत्ररममा डेंगु र स्क्रब टाइफसको अवस्था र बच्न सक्ने उपायहरुको विषयमा सहजिकरण स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईले गर्नुभएको थियो ।
चैलागाईका अनुसार हालसम्म जिल्लामा डेंगुका १६ जना र स्क्रब टाइफसका २ जना बिरामी जिल्ला अस्पतालमा देखिएपनि गाउँघरमा धेरै हुनसक्ने सम्भावना छ । डेंगु एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट ंलाग्ने रोग हो । एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांशपेशीहरु दुख्नु, शरीरमा विमिरा आउनु, रक्तश्राव हुनु डेंगुका मुख्य लक्षणहरु हुन् । शरीरका छालाहरुमा रगत जमेका जस्ता दागहरु देखा पर्नु, नाक तथा गिजाबाट रगत बग्नु, पेट दुख्नु तथा कालो दिशा आउनु, खाना तथा पिउन गाह्रो हुनु, फरक किसिमको व्यवहार तथा बेहोस हुनु, शास फेर्न गाह्रो हुनु तथा हातखुट्टा चिसो हुनु, पिशाव कम मात्रामा आउनु डेंगुका जटिल लक्षण भएको चौलागाईले बताउनुभएको छ ।
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ, थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा, अल्कक्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायरहरुमा पानी जम्न नदिने, पानीका ट्याँक्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरि ढाकेर राख्ने, कुलर, एसी र फ्रिजको वास्ट बक्समा रहेको पानीमा प्रत्येक हप्ता एक वा दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने, फुलदानीमा रहेको पानी हप्तामा २ पटक फेर्ने गर्नुपर्दछ ।
यस्तै, यस लामखुट्टेले दिउँसो टोक्ने हुंदा दिउँसो बस्दा पनि प्रायः पुरा बहुला वा शरीर पुरै ढाक्ने लुगा लगाउनुपर्दछ, संम्भव भएसम्म दिउँसो सुत्दा झुलको प्रयोग गर्ने साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ, लामखुट्टे भगाउने मलहम दल्ने, घरका झ्याल ढोकामा जाली लगाउने, घर वरीपरी सफा सुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र डेंगु रोगको लक्षण चिन्ह देखिने वित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गरी चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालयका फोकल पर्सन एवंम् कार्यक्रम अधिकृत जीवन चौलागाईले बताउनुभयो ।
बिशेषगरी डेंगुका बारेमा सबै जानकारी नभएका कारण यसबाट संक्रमित आम नागरिक हुने र ज्यानपनि जान सक्ने भएकाले प्रत्येक नागरिकसम्म जनचेतना फैलाउनु प्रमुख कार्य रहेकाले सबै निकाय यसमा लाग्ने आजको अन्तरक्रिया कार्यक्रमको निष्कर्ष छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको प्रशिक्षण अनुसार अब हरेक पालिकाको स्वास्थ्य शाखाले डेंगु र स्क्रब टाइफसबाट बच्न जनचेतना साथै अन्य आवश्यक कार्यक्रम गर्ने बताइएको छ ।
के हो स्क्रब टाइफस
स्क्रब टाइफस मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा(माइट)को टोकाइबाट मानिसमा सर्दछ । माइट प्रायजसो झाडी, खेतवारी, वनजंगल, घर वरीपरीको झाडी, घुरान हुने ठाउँमा देखिने गर्दछ ।
१०४ डीग्री फरेनहाइट भन्दा बढी ज्वरो र कामज्वरो समेत आउन सक्छ, धेरै टाउको दुख्ने, किरा(माइट)ले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिन सक्छ, टोकेको ठाउँमा पछि गएर कालो दाग वस्न सक्छ, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छाड्नु स्क्रब टाइफसका लक्षणहरु हुन् ।
यसबाट बच्नका लागि खेतवारीमा काम गर्दा, वनजंगल, झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै संम्भव भए बुट लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री ओछ्याएर बस्ने, संम्भव भए भुइमा नभइ खाटमा वा अग्लो स्थानमा सुत्ने÷बस्ने, किरा(माइट)को बृद्धि रोक्नका लागि किटनाशक विषादीहरु छर्कने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, घर वरीपरी झाडी हुन नदिने तथा मुसाको बृद्धि विकास नहुने वातावरण सृजना जस्ता काम गर्नुपर्ने स्वास्थ्य कार्यालयका फोकल पर्सन एवंम् कार्यक्रम अधिकृत चौलागाईले बताउनुभयो ।
